आफ्ना बच्चालाई अनुशासित कसरी बनाउने ?
काठमाडौँ — तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के गर्नुहुन्छ ? जब बच्चा गृहकार्य गर्न वा पढ्नको सट्टा खेल्नमात्र खोज्छ र कुनै दिन स्कुलमा शिक्षकको पिटाइ पनि खान्छ भन्ने सुन्नुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ ?
कहिले खान नमानेर, कुनै चिज मागेर र अझ कहिले त अरू बच्चासँंग झगडा गरेर दिक्क बनाएको बेला उसलाई अनुशासनमा राख्न तपाईंले अनेक उपाय लगाउने गर्नुभएकै होला
बच्चाले भनेको किन मान्दैन भन्ने सोच्नुभएको छ ? एक–दुई वर्षसम्म बच्चा तपाईंसंँग निर्भर हुने गथ्र्याे । उमेर बढ्दै गएपछि उसको आफ्नोपन बढ्दै जान्छ, अनि स्वतन्त्रतामा आनन्दित र अझ बढी सुरक्षित महसुस गर्न थाल्छ ।
केही हदसम्म उसमा विद्रोही भावना पनि आइसकेको हुन्छ । अझ महत्त्वपूर्ण कुरा त ऊ आफ्नो संवेगलाई नियन्त्रण गर्न बल्ल सिक्न थालेको हुन्छ । त्यसका लागि समय लाग्छ र निरन्तर अभ्यास पनि चाहिन्छ ।
बच्चाले भनेको नमान्दा हामीलाई रिस उठ्न सक्छ । कहिलेकाहीं त हामी रिस नियन्त्रण गर्न सक्दैनौं र बच्चालाई सजाय दिन्छौं । यो राम्रो हैन भन्ने हामीलाई थाहा छ । के गर्न सक्छौं त यस्ता जिद्दी बच्चालाई ?
अनुशासन भनेको बच्चालाई नियन्त्रणमा राख्नु हैन, बरु बच्चाले आफैंलाई नियन्त्रणमा राख्न सिक्नु हो । पहिलो कुरा त हामीले यस्तो किन भएको हो भन्ने बुझ्नुपर्यो ।
उदाहरणका लागि बच्चालाई खाना खान बोलाउनुभयो, तर ऊ आउनै मान्दैन । जबर्जस्ती तानेर वा गाली गरेर ल्याउनुभयो भने ऊ रुन्छ ।
एक पटक आफूलाई उसको ठाउँमा राखेर हेर्नुस् त । ऊ खेलिरहेको छ र उसलाई त्यो कुरा मन परिरहेको छ ।
तपाईं ऊ खेलिरहेको ठाउँमा गएर माया गरेर अँगालो मार्नुस् र भन्नुस् कि ‘तिमीलाई खेल्न मज्जा आइरहेको मलाई थाहा छ, तर खाना तयार छ, सेलाउँछ, पहिला खान खाऊ अनि खेल्ने, बरु म पनि सँंगै खेल्छु ।’ यसो गर्दा उसले खेल्न नपाउनुको कारण तपाईंलाई ठान्दैन ।
बरु तपाईं उसको पक्षमा हुनुहुन्छ भन्ने सोच्छ । उसलाई नरिसाइकनै खेल्न छुटाउनुहोस् र खाना खाने टेबलमा भने अवश्य ल्याउनुहोस् । दोस्रो तरिका भनेको कुनै पनि कुराको निश्चित सीमा तोकिदिनु हो ।
बच्चालाई कुन कुरा गर्नुपर्छ र कुन कुरा कुनै हालतमा गर्नुहुन्न भन्ने थाहा दिनुपर्छ । वास्तवमा उनीहरूलाइ यस्तो सीमारेखा तोकिदिएको मन पनि पर्छ । उदाहरणका लागि सडकमा बाटो काट्दा उसले तपाईंको हात समात्नैपर्छ भन्नुहोस् ।
उसको साथीले खेलौना खोसिदियो भने पिटेर लिने हैन, मेरो खेलौना देऊ भनेर मागेर लिनपर्छ भन्नुहोस् । उसको एकदमै मनपर्ने खेलौना उसलाई जतिखेर पनि चाहिन्छ भने खास–खास बेलामात्र लिन पाउने नियम बनाएर पालना गराउनुहोस्, नकि रिसाएर खोसिदिने ।
कहिलेकाहीं उनीहरूलाई सीमा तोकिदिए वा नियम बनाए अनुसार पालना गराउन सकिँदैन । यस्तो बेला कुनै समाधान खोज्नुपर्छ । जस्तै– तपाईंको चार वर्षको छोरोले एक वर्षकी छोरीलाई जति गरे पनि पिट्न छोडेन ।
सम्भवत: ऊ बहिनीको कारण आफूले आमाको समय नपाएर बहिनीलाई पिट्दैछ होला । उसलाई बहिनीलाई खुवाउने वा कपडा लगाइदिने काममा आफूसंँगै संलग्न गराउन सक्नुहुन्छ । अनि सकेसम्म उसका लागि पनि विशेष समय निकाल्नुपर्ने हुन्छ ।
बच्चालाई अनुशासनमा राख्ने अर्को तरिका भनेको राम्रो व्यवहारलाई प्रोत्साहन गर्नु हो । तपाईंले उसले नराम्रो गरेको बेलामात्र समात्ने नगरेर केही राम्रो गरेको कुरा याद गरेर त्यसका लागि स्याबासी दिने गर्नुभएको छ भने उसले राम्रो बानीलाई अंँगाल्न थाल्छ । जस्तो कि उसले साथीलाई केही कुरा दिइरहेको देख्नुभयो भने यसरी नै मिलेर खेल्नुपर्छ है भन्नुस् । ऊ खेलौना साटासाट गर्न झन् खुसी हुनथाल्छ ।
त्यस्तै बच्चाले कुनै गल्ती गरेको बेला ऊ आफै नराम्रो मानिरहेको हुन्छ । यस्तो बेला उसलाई तुरुन्तै गाली नगर्नुस् । बरु शान्त भएर रिस उठेको बेला के गर्नुपर्छ भन्ने उदाहरण देखाउनुहोस् । सजाय दिँदा केही बेरका लागि डराएर पनि उसले राम्रो गरेजस्तो देखाउला वा नराम्रो नगर्ला ।
तर बच्चाले मनपरेर वा आफूलाई खुसी लाग्ने भएकोले कुनै कुरा गर्छ भने त्यो दिगो हुन्छ । हाम्रो प्रयास बच्चालाई सकारात्मक व्यवहार प्रोत्साहन गर्नेतिरै केन्द्रित हुनुपर्छ ।
जब हामी बच्चालाई आफै केही कुरा रोज्ने वा आफ्नो इच्छाले कुनै राम्रो काम गर्ने अवसर दिन्छौं, उसले आफ्नो नियन्त्रित वातावरणमा केही आफ्नोपन वा स्वतन्त्रता महसुस गर्न पाउँछ । जस्तै– बच्चाले कोठाभित्रै बल खेलेर टिभी भएतिर हान्दैछ भने कोठामा बल नखेल भन्नुको सट्टा बाहिर गएर एकछिन सँंगै खेलिदिनुस् ।
अनि उसले बल खेल्न बाहिर जानुपर्छ भन्ने सिक्छ । कहिलेकाहीं उसलाई जित्न पनि छोडिदिनुपर्छ । जस्तो कि कुनै दिन उसले रातो ट्राउजरसंँग निलो धर्का भएको सेतो टिसर्ट नै लगाउन झगडा गर्दैछ भने लगाउन दिनुहोस् ।
कुन कुरामा कडाइ गर्ने र कुन कुरा स्वतन्त्र छोडिदिने भन्ने विचार गर्नुपर्छ । अनुशासन सिकाउँदै गर्दा बच्चाको उमेर र उसको क्षमता सधंै मनन गर्नुपर्छ ।
बच्चालाई कुनै सीप सिक्न समय लाग्छ र तपाईंको अलिकति मिहिनेत पनि । जथाभावी दिसापिसाब गर्यो भनेर रिसाउनु वा गाली गर्नुभन्दा उसलाई सही समयमा सही तरिकाले ट्वाइलेट जान अभ्यस्त गराउनुपर्छ । तपाईंले बच्चाले भनेको मानेन भन्ने सोचेको कुरा कतै उसले सिकेकै पो छैन कि ?
अनुशासन भनेको बच्चालाई नियन्त्रणमा राख्नु हैन, बरु बच्चाले आफैलाई नियन्त्रणमा राख्न सिक्नु हो । फेरि बच्चाको समय र हाम्रो समय एउटै हैन ।
उसले सोच्ने तरिका र हामीले सोच्ने तरिका पनि एउटै नहुन सक्छ । उसलाई समय दिनुपर्छ, माया गरेर ढाडस दिँदै सिकाउनुपर्छ र जिद्दी गर्दैमा सबै कुरा पाइन्छ भन्ने सोचाइ आउनबाट पनि बचाउनुपर्छ ।
डा. दिनेश धरेलले लेख्नु भएको लेखलाई बालबालिकाका लागि अत्यन्त उपयोगी हुने देखिएको यसलाई कान्तिपूर दैनिकबाट साभार गरिएको हो ।
प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार