खानेपानी मन्त्रीद्वारा पाल्पाको माथागढीमा खानेपानी आयोजनाको उद्घाटन, ५ सय ८ घरधुरी लाभान्वित


 


पाल्पा  खानेपानी मन्त्री बिना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुबिधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे बताउनु भएको छ ।
पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।
खानेपानी लगायत अन्य पूर्वाधारका योजनाहरु अघि बढाउन सरकार गम्भीर भएर लागिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, समृद्ध नेपाल र सुखी नेपालीको मर्म यो सरकारले बाहेक अरु कसैले बुझ्न् सकेको छैन । चुनौती थुप्रै छन् तर पनि सरकारले काम अघि बढाइरहेको छ । कामै भएन भनेर सरकार विरुद्ध गरिएको दुष्प्रचारले कसैलाई फाइदा गर्दैन ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड ) का कार्यकारी निर्देशक लीला प्रसाद ढकालले खानेपानीका नयाँ योजना तर्जुमाका लागि बोर्ड लागिरहेको बताउनुभयो ।
खानेपानी मन्त्रालय अन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक र सामाजिक श्रोत विकास केन्द्र तानसेन पाल्पाको प्राविधिक सहयोगमा फूलबारी एक्लेवर खानेपानी आयोजना सञ्चालनमा आएको हो । यो आयोजनाको कूल लागत ७२ लाख ७१ हजार रहेको छ भने यस आयोजनाबाट ५०८ घर धुरीहरु लाभान्वित हुनेछन् । माथागढी गाउँपालिका वडा नम्बर ३ मा पर्ने ९ वटा टोलहरु यस आयोजनाको उपभोक्तामा पर्दछन् । यो खानेपानी आयोजनाको काम २०७४ असार १५ गतेबाट सुरु भएको हो ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्