नेकपा नेता भीम रावलले सरकार र सिके राउतबीचको सहमति नमान्ने, गृहमन्त्रीको राजिनामा माग


 


काठमाडौं, २५ फागुन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । उनले उक्त सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई बैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत तेर्साए ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले भने,‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन् । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक ईन्चपनि भुमि टुक्रयाउन पाईँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने,‘तर, हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ । यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ ।’

उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए । उनले भने,‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो ।’

रावलले सिके राउतले स्वयम आफ्नो फेशबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेकोपनि सुनाए । उनले भने,‘उहाँले फेसबुकमा यस्तो कुरा लेख्नुभएको छ, स्वतन्त्र मधेशका सबै मुधाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ। यो निकै आपत्तिजनक हो । सरकारले यसको पनि जवाफ दिनुपर्छ ।’

हिजो भएको सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको उनको टिप्पणी छ । आफू कम्युनिष्ट पार्टीको सच्चा कार्यकर्ता भएकोले पार्टीको विधानो प्रतिरक्षा गरेको पनि उनले स्पष्ट पारे । उनले भने,‘मधेश टुक्र्याउँछु भन्नेहरुसँग जनमतसंग्रह गर्न सहमत हुने हो ? यो कुरा संविधानले अनुमति दिन्छ त ? नेकपाको घोषणापत्रले अनुमति दिन्छ त ? म प्रश्न गर्न चाहन्छु।’

रावलले कसको स्वार्थमा यत्रो सहमति गरियो ? भन्दै सरकारलाई प्रश्न गरे । उनले भने,‘सरकारले यसको जवाफ दिनुपर्छ । सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौं । अहिले फेरि यो कुराले प्रवेश किन पायो ?’
राउतले हिजोको सहमति कार्यक्रममा बडो कलात्मक रुपमा आफ्नो सम्बोधन गरेको पनि सुनाए ।

उनले थपे,‘उहाँले कतैपनि राष्ट्र विखण्डनको कुरा फिर्ता लिनुभएको छैन् । अहिलेपनि उहाँले बोलेका विखण्डनका कुराहरु छ्याप्तछ्याप्ती पाईन्छन् । बरु, उहाँले विगतमा मैले बोलेका कुराहरु ठीक थियो भनेर पुष्टि गर्न खोज्नुभयो ।’

उनले यत्रो सहमति गर्दा पनि पार्टीभित्र छलफल नभएकोमा आक्रोश पोखे । उनले भने,‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन ? मैले त सहमति हुन्छ भन्ने थाहा पाएपछि नेताहरुमार्फत आफ्नो मत प्रेषित गरेको थिएँ । हाम्रै पार्टीका साथीहरुले पनि भाषाहरु परिवर्तन गर्नुपर्छ भन्नुभएको थियो । तर, सच्याईएन । पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ । एक दुई जनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो ?’

उनले आफूले हिजोको ‘सहमति कार्यक्रम’ प्रत्यक्ष प्रशारणमा हेरेको सुनाउँदै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई पार्टीकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरेकोमा दुःख व्यक्त गरे । उनले भने,‘हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो । देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो, यसको जवाफ प्रचण्डजीले दिने हो।

उनले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुनेपनि जिकिर गरे । उनले भने,‘अब बस्ने पार्टीको बैठकमा यो विषयमा छलफल हुन्छ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्