दलित छात्रालाई साइकल वितरण


 


लहान, फागुन २४

महिला दिवसको अवसर पारेर आज सप्तरीको सुरुङ्गा नगरपालिकाले नगरक्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत १२० दलित छात्रालाई साइकल वितरण गरेको छ ।

‘लैङ्गिक समानताका लागि समान स्रोत र व्यवहारः समृद्धिको आधार’ भन्ने नाराका साथ सेभ द चिल्ड्रेन र सबल नेपालको सहयोगमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा सांसद नविता चौधरी, प्रदेशसभा सदस्य रुवी कर्ण, नगर प्रमुख मुक्तिनाथ चौधरीलगायतले संयुक्तरुपमा दलित छात्रालाई साइकल वितरण गर्नुभयो ।

नगरपालिकाका ११ वटै वडामा रहेका माध्यमिक विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा नियमित अध्ययनरत १२० दलित छात्रालाई साइकल वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो । दलित समुदायमा बढ्दो बालविवाहलाई निरुत्साहित गर्दै दलित छात्रालाई नियमित विद्यालय पठाउन उत्प्रेरित गर्ने उद्देश्यले दलित छात्रालाई साइकल वितरण गरिएको उहाँले बताउनुभयो ।

सो कार्यक्रममा स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलालाई सम्मान गर्नुका साथै २०७४ सालको एसइई परीक्षामा नगरक्षेत्रबाट सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रालाई पुरस्कृत गरिएको थियो । नगर उपप्रमुख विन्दा पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपाकी नेत्री लक्ष्मी चौधरी, सबल नेपालकी अध्यक्ष जुना गिरी, वडा नं ४ का वडाध्यक्ष देवेन्द्र चौधरी, पत्रकार यमुना खनाललगायतले बालविवाह अन्त्यका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्