ओली सरकार आएपछि वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो


 


काठमाण्डौँ, फागुन २४

चालु आर्थिक वर्ष २०७५/७६को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

अन्तिम श्रम स्वीकृति –संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गत वर्षकोभन्दा ठूलो गिरावट आएको छ । नेपालीको प्रमुख श्रम गन्तब्य मलोसियाको रोजगारी आर्थिक वर्षको सुरुआतबाटै बन्द छ । यसैका कारण विदेशिने नेपाली कामदारको संख्यामा उच्च गिरावट आएको हो ।

मलेसियामा कामदार लैजाने गरी श्रम समझदारी भएपनि प्रक्रियाबारे कुरा नमिल्दा मलेसियामा नेपाली कामदारको आपूर्ति ठप्प छ । श्रम तथा रोजगार मन्त्रालयले पुरानो संयन्त्रबाट कामदार लैजान नदिने अडान लिएपछि नयाँ कामदार मलेसिया जाने बाटो बन्द छ ।

तर, मलेसियाबाहेक अन्य देश जाने नेपालीको संख्यामा पनि गत वर्षभन्दा केही कमी आएको छ । साउनबाट पुससम्म पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्