प्रधानमन्त्रीलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ : बिजुक्छे


 


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको गोप्यता प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरुले नै विदेशी मुलुकसमक्ष चुहाएको आरोप लगाएका छन् ।

बिजुक्छ देशको सार्वभौमिकता, स्वतन्त्र, अखण्डता र अन्तर्रा्ष्ट्रिय सम्बन्ध नै खतरामा पर्ने देशको गोप्यता अर्को देशलाई चुहाउँदै आएका प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ कर्मचारीहरुलाई सीधै देशद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन् ।

भक्तपुर नगरपालिका–९ च्याम्हासिंहस्थित वागीश्वरी माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले नेपालमा प्रधानमन्त्रीले नै देशको गोप्यता चुहाउने गरेको दावी गरेका हुन् । अन्य देशमा देशको गोप्यता अरु देशलाई चुहाउनेमाथि सीधै देशद्रोहको मुद्दा लाग्ने बताउदै उनले भने, ‘ प्रधानमन्त्रीले नै गोप्यता चुहाउँछन् । जसले गर्दा मन्त्री र उच्चपदस्थ कर्मचारीहरुले समेत यसमा छुट पाउँदै आएका छन् ।’
उनले उच्च पदस्थ कर्मचारीहरुमा भूगोल, इतिहास र राजनीतिबारे राम्रो ज्ञान नहुँदा भारतसँगको हरेक सन्धि सम्झौतामा नेपाल ठगिँदै आएको बताए । ‘अन्तर्रा्ष्ट्रिय कानुनले दुई देशको सीमा क्षेत्रमा कुनै भौतिक निर्माण गर्न पाइँदैन’, अध्यक्ष बिजुक्छेले थपे, ‘तर हाम्रो देशको प्रतिनिधित्व गर्नेहरुले सीमामै बाँध बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।’

भारतले नेपाली भूभागमा कब्जा गर्ने नियतले बनाएका व्यवस्थालाई नै सरकारमा जाने दलका नेता तथा संसादहरुले संसदमा ऐन–कानुनको रुपमा प्रस्तुत गर्ने भन्दै उनले आक्रोश पोखे । यस्तै विदेशीलाई नेपाली भूमि भाडामा दिने, नदीनाला तथा प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने अधिकार लगानी बोर्डलाई दिनु आपत्तिजनक भएको उनले बताए ।

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्