सुरक्षाकर्मी नै असुरक्षित, स्थानीयको आक्रमणबाट टाउकोमा गम्भीर चोट


 


ललितपुर । सर्वसाधारणको सुरक्षाको लागि अहोरात्र खट्ने सुरक्षाकर्मी नै असुरक्षित भएपछि अब सर्वसाधारणको सुरक्षा कसले गर्ने ? ललितपुरको मंगलबजारमा सर्वसाधारणको सुरक्षाको लागि खटिएका प्रहरी नै असुरक्षित बनेका छन् ।

मंगलबजारमा गत फागुन १८ गते करिब राती १०ः१५ बजेको समयमा केही उच्छृंखल समूहले महानगरीय प्रहरी प्रभाग, मंगलबजारका इन्स्पेक्टर केशर न्यौपानेलाई घेरा हाली आक्रमण गरी घाइते बनाएका छन् । सो आक्रमणबाट इन्स्पेक्टर न्यौपानेको टाउकोमा गम्भीर चोट लागेको छ । मंगलबजारको नागबहालमा फागुन १८ गते साँझ नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली चेकजाँचको क्रममा मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएपछि मोटरसाइकल चालकको ट्राफिकले चिट काटेपछि विवाद उत्पन्न भएको थियो ।

विवादपछि मोटरसाइकल चालकले फोन गरी केही समूहलाई बोलाई ट्राफिक प्रहरीले राती प्रयोग गर्ने लाइट भाँची चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई लछारपछार गरेको जानकारी चेकजाँचमा रहेका नेपाल प्रहरीका असईले मंगलबजार प्रभागका इन्स्पेक्टर न्यौपानेलाई खबर गरेपछि इन्स्पेक्टरसहितको टोली घटनास्थल पुगेको थियो । इन्स्पेक्टर न्यौपानेले ‘हामीहरु तपाईंहरुकै सुरक्षाको लागि खटिएका हौं, सरसल्लाहमा सबै कुरा मिलीहाल्छ’ भनिरहेकै अवस्थामा मोटरसाइकलमा आएका दुई प्रहरीलाई धकेली मोटरसाइकल लडाई अभद्र व्यहार गर्दासमेत इन्स्पेक्टरले संयमता अप्नाई उच्छृंखल हुललाई सम्झाउने प्रयत्न गर्दागर्दै पनि इन्स्पेक्टरलाई घेरा हाली टाउकोमा गहिरो चोटछ लाग्ने गरी आक्रमण गरेका थिए ।

इन्स्पेक्टर न्यौपानेलाई टोउकोमै गम्भीर चोट लाग्ने गरी आक्रमण गरेपछि महानगरीय प्रहरी परिसर, पुल्चोक प्रभाव, सातदोबाटो वृत्तबाट थप प्रहरी घटनास्थलमा पुगेपछि सयौंको उच्छृृंखल समूह भागेका थिए । इन्स्पेक्टर न्यौपानेले संयमता नअप्नाएको भए सो दिन ठूलै घटनाहुनसक्ने थियो । किनकी टाउकोमा गम्भीर चोट लाग्ने गरी आफूमाथि आक्रमण हुँदासमेत इन्स्पेक्टर न्यौपानेले आफूसँग भएको हतियार, चेकजाँचको क्रममा रहेका प्रहरीसँग भएको हतियार र बडी गार्डसँग भएको हतियार प्रतिरक्षाको लागि प्रयोग गरेको भए सायद ठूलै घटना हुनसक्ने जो कसैले अनुमान लगाउन सक्छ ।

इन्स्पेक्टर न्यौपानेले घटनालाई ठूलो रुपमा नलिनको लागि सरसल्लाहमार्फत नै समस्याको समाधान गर्नको लागि सो क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुलाई फोन गर्दा फोन नै नउठाएको र केही समयपछि फोन नै स्वीच अफ गरी सम्पर्कमा आउन नचाहेकोमा खोजतलाससँग दुःख पोखेका छन् । सो घटनाको विषयलाई लिएर ललितपुर प्रहरी परिसरका प्रवक्ता गोविन्द थपलियासँग सो घटनामा इन्स्पेक्टरलाई टाउकोमा गम्भीर चोट लाग्ने गरी आक्रमण भएको छ, आक्रमणकारीलाई दुई/चार दिनसम्म पनि पक्राउ गरी कारबाहीको दायरामा नल्याउनुको कारण बुझ्दा प्रवक्ता थपलियाले भने —‘रात दिन नभनी अहोरात्र सर्वसाधारणको सुरक्षाको लागि खटिएका प्रहरी अधिकृतलाई घाइते हुनेगरी आक्रमण गर्नेहरुको पहिचान भइसकेको छ । उनीहरुलाई चाँडै नै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताए’ ।

यो घटनालाई राजनीतिक इस्यु बनाई सामसुम पार्न खोजिएको गन्ध आएको छ नि ? भन्दा प्रवक्ता थपलियाले भने ‘यो घटनालाई हामीले गम्भीर रुपमा लिएका छौं, घटनामा संलग्नहरुको बारेमा पहिचान भइसकेको कारण मुद्दा दर्ता गरिसकेका छौं । इन्स्पेक्टर न्यौपानेको हस्पिटल रिर्पोटलगायतका कागजपत्रहरु तयार भइसकेका छन् । सोही कारण यस घटनामा संलग्न भएकाहरुलाई कारबाही गरेरै छाड्छौं ।’ जस्तोसुकै राजनीतिक दवाव आए पनि हामी सो घटनामा संलग्नकाहरुलाई कानुनी कारबाही गराएरै छाड्छौं । स्मरणीय छ, इन्स्पेक्टर न्यौपानेलाई आक्रमण गरी घाइते बनाएको भोलिपल्टै सिभिल ड्रेसमा परिचालन भएका घुमुवा प्रहरीलाई समेत आक्रमण भएको छ ।

मोटरसाइकलमा सवार घुमुवा प्रहरीले एक मोटरसाइकल चार/पाँच जनाको समूहले डो¥याएको देखेपछि चोरीको शंका लागि बुझ्न खोज्दा ती समूह भागेका थिए । पछि स्थानीयले घुमुवा प्रहरीलाई चोर भन्दै कुटपिट गर्न खोजेपछि घुमुवा प्रहरीले परिचय पत्र देखाउँदा समेत कुटपिट गरेका थिए भने परिचय पत्रसमेत गायव पारिदिएका थिए । अब सर्वसाधारणको सुरक्षाको लागि अहोरात्र नभनी खट्ने प्रहरीहरु नै असुरक्षित हुन थालेपछि अब सर्वसाधारणले कोसँग सुरक्षाको अनुभूति गर्ने ? चिन्ताको विषय बनेको छ ।खोजतलास

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्