रेशम चाैधरीबारे अदालतले फैसला गर्‍यो, न्याय गरेन


 


काठमाडौं फागुन २३
सांसद रेशम चाैधरीकाे मुद्दामा अदालतले फैसला मात्रै गरेको तर न्याय नगरेकाे सांसद हृदयेश त्रिपाठीले बताएका छन। बिहीबार प्रतिनिधिसभा विशेष बैठकमा विशेष समय लिएर बाेल्दै सांसद त्रिपाठीले कैलालीबाट निर्वाचित सांसद चाैधरीबारे बुधबार कैलाली जिल्ला अदालतले गरेको फैसलाले न्याय नदिएकाे बताएका हुन्।

उनले एक पूर्वप्रधानन्यायाधीशले आफूलाई भनेको कुरा उल्लेख गर्दै नेपालका अदालतले न्याय दिन नसकेको बताएका हुन। त्रिपाठीले भने, ‘सांसद रेशम चाैधरीबारे हिजाे कैलाली जिल्ला अदालतले फैसला गरेको छ, न्याय गरेको छैन। आज बिहानमात्रै एकजना पूर्वप्रधानन्यायाधीशले हाम्रा अदालतले फैसला मात्रै गर्छन न्याय गर्दैनन् भन्नुभयो।

जुन सांसद रेशम चाैधरीकाे हकमा पनि भयाे।’ रेशम चाैधरीलाई टीकापुर घटनामा दाेषी करार गर्दै कैलाली जिल्ला अदालतले बुधबार रेशम चाैधरीसहित ११ जनालाई जन्मकैदकाे सजाय सुनाएको थियाे। त्यसैगरी, त्रिपाठीले उखु किसान मारमा परेका बताए।

त्यसमा सरकारले ध्यान नदिएकाे आराेप लगाए। उनले चिनी मिल संचालनबारे सरकारले उचित पहल नगर्दा उखु किसान मारमा परेको बताए। उनलेे चिनी मिल बन्द गर्न लागिएको हुनाले किसनमा हाहाकार पैदा भएको बताए। त्रिपाठीले उखु मिल संचालन गर्न र उखु किसानलाई अनुदान रकम उपलब्ध गराउन माग गरे।

अहिलेसम्म २० प्रतिशत किसानले मात्रै अनुदान पाएकाले सबै किसानलाई अनुदान उपलब्ध गराउन त्रिपाठीको माग थियाे। उनले आफूले सदनमा किसानका माग पूरा गराउन दर्ता गरेको विशेष महत्वकाे प्रस्तावबारे छलफलको पनि माग गरे।

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्