अर्थका सहसचिव सरूवा : को भित्रिए को बाहिरिए ?


 


काठमाडौं  सरकारले २०७५ फागुन १३ मा ३० जना सहसचिवको सरुवा गरेको छ । सरुवा गरेको ५ दिनपछि फागुन १७ मा मात्र सहसचिवहरूको सूची सार्वजनिक गरिएको छ । जसमा अर्थ मन्त्रालयबाट ३ सहसचिव बाहिरिएका छन् भने ४ जना भित्रिएका छन् । अर्थमा इन्ट्री हुने सहसचिवहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगाल, शिवकुमार कार्की र थानेश्वर गौतम छन् । अर्थको अनुगमन महाशाखा र आन्तरिक राजस्व विभागमा २ सहसचिव रिक्त थिए ।

अर्थमा भित्रिएका सहसचिव शिवकुमार कार्की भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सहकारी विभागको रजिष्टार थिए । तर ३ महिना पनि रजिष्टार नभई उनी अर्थमा भित्रिएका छन् । थानेश्वर गौतम अर्थमा इन्ट्री हुने अर्का भाग्यमानी सहसचिव हुन् । उनी लेखासमूहकै हुन् ।

महालेखा नियन्त्रक कार्यालयमा उपसचिव हुँदै बढुवा भएका सहसचिव हुन् । उनी ५ नम्बर प्रदेशको आर्थिक योजना मन्त्रालयका सचिव थिए । उनलाई मुख्यमन्त्री शंकर पोखरेलले सरुवा गर्न प्रदेशमै राख्न चाहेका थिए । मोरङ घर भएका उनलाई अर्थमन्त्रालयमा ल्याइएको छ । उनी एमालेका विश्वासिला सहसचिव मानिन्छन् । अर्थसचिव राजन खनालले गौतमलाई विशेष जोड गरेर अर्थमा ल्याएको बताइन्छ ।

राजस्व समूहमा बसी कुस्त लाभ लिएका तुलसी सेढाई पनि अर्थमा इन्ट्री भएका छन् । उनी राजस्वका अकूत कमाउनेको सूचीमा अख्तियारको छानबिनमा समेत छन् । अर्थबाट बाहिरिनेमा भन्सार विभागका उपमहानिर्देशक नारायण सापकोटा, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक बलराम रिज्याल र अर्थमा सरुवा भए पनि जिम्मेवारी नपाएका शिवलाल तिवारी छन् ।

सापकोटा वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् । सापकोटालाई वातावरण विभागको महानिर्देशक बनाउनका लागि लगिएको छ । झलकराम अधिकारी सरुवा भएपछि सापकोटालाई महानिर्देशक बनाउनका लागि लगिएको बताइन्छ । ठूला करदाता कार्यालयको प्रमुख हुँदा एनसेलसँग २३ अर्ब लाभकर असुली गर्ने रिज्याललाई लगानीबोर्डमा पठाइएको छ ।

बर्षमान पुन अर्थमन्त्री हुँदा उनका निजी सचिव शिवलाल तिवारीलाई अर्थमा सरुवा भए पनि कुनै जिम्मेवारी नदिई राखिएको थियो । उनी पुन मन्त्री भएकै ऊर्जा मन्त्रालयमा सरुवा भएका छन् । तिवारी लेखा समूहमा काम गरी सहसचिवमा बढुवा भएका हुन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्