पार्टी अध्यक्ष जिताएका बामदेबले किन गरे ओलीसँग सम्बन्धविच्छेद ?


 


काठमाडौं अध्यक्ष केपी ओलीलाई साथ दिँदै आएका नेता वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पछिल्लो स्थायी समितिको तेस्रो बैठक (२९ मंसिर–१२ पुस) सँगै उनीसँग ‘सम्बन्धविच्छेद’ गरेका छन् । तत्कालीन एमालेको सातौँ महाधिवेशनयता ‘निर्णायक घडी’मा गौतमले ओलीलाई नै साथ दिँदै आएका थिए । गौतमले यसपटक भने बैठकमा ओली सरकार र पार्टी नेतृत्व दुवै मोर्चामा असफल भइसकेको निष्कर्षसहित फरक विचार पेस गरे । तीन महिनायता उनले ओलीलाई धोकेबाज पनि भने । ओलीसँग आफ्नो मोहभंग भइसकेको बताउँदै आएका गौतमले अन्ततः फरक मतमार्फत राजनीतिक लाइनमा ‘सम्बन्धविच्छेद’कै घोषणा गरेको चर्चा चलेको हो । गौतम स्वयंले सार्वजनिक र औपचारिक रूपमा यसबारे केही नबताए पनि पार्टी बैठकमा बाहेक अहिले ओलीसँग उनको संवाद टुटिसकेको छ ।

पछिल्लोपटक उनले ‘एक व्यक्ति : एक पद’को विचार अघि सारे । दुई अध्यक्षमध्ये एकले सरकार सञ्चालन गरे, अर्कोले पार्टी चलाउनुपर्ने उनको मत छ । गौतमले ओलीलाई दुईतिहाइको दम्भ हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाएर देखाउन र उनीसँगको माया–प्रीति जुग–जुगसम्म कायम राख्न पनि चुनौती दिए ।गौतमनिकट केन्द्रीय सदस्य केशवलाल श्रेष्ठले भने गौतमले फरक मतभन्दा पनि पार्टी र सरकार सञ्चालनका कमजोरी सुधारका लागि विचार राखेकाले टिप्पणी गरे । श्रेष्ठले दुई नेताबीचको सम्बन्धबारे अहिल्यै थप प्रतिक्रिया दिनु हतारो हुने बताए । ‘अहिल्यै प्रतिक्रिया दिइहाल्न हतारो हुन्छ, उहाँ(गौतम)को विचारलाई सिंगो पार्टीले रचनात्मक रूपमा लिनुपर्छ, उहाँहरू(ओली–गौतम)बीचको सम्झौतासम्बन्धी आन्तरिक मामिला के हो ? मैले बुझेको छैन, त्यसकारण धोका हो कि होइन, थाहा हुने कुरा पनि भएन,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

महाधिवेशनको निर्णायक घडीमा दरो साथ दिएका थिए, तर अहिले बैठकमा बाहेक दुई नेताबीच संवादै टुटेको छ

दशक लामो सहकार्य वारपारको दिशामा
नेपालगन्जमा ०५४ मा सम्पन्न छैटौँ महाधिवेशनमा दुई ध्रुवमा उभिँदा ओली–गौतमको टकराव पार्टी विभाजनमा निर्णायक बनेको थियो । तर, जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनमा दुई नेताबीच सम्बन्ध सुधार भयो । माधव नेपाल पार्टी महासचिवमा निर्वाचित हुँदा गौतमले उनलाई खासै सघाएनन्, सम्बन्ध पनि बिगारेनन् । यद्यपि, अन्तिम घडीसम्म प्रतिस्पर्धामा रहेका ओलीतिरै गौतमले सहानुभूति राखे ।

०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा भने गौतमले झलनाथ खनाललाई अध्यक्षमा निर्वाचित गर्न सघाए । तर, खनाल–ओलीबीचको व्यक्तित्वको टकरावले अर्को महाधिवेशनसम्मको आधाभन्दा बढी समयसम्म पार्टी लथालिङ बनेपछि दुईलाई मिलाउन गौतमले सेतुको भूमिका निर्वाह गरेका थिए । त्यसयता सुध्रिएको सम्बन्धलाई दोस्तीसहितको सम्झौतामा रूपान्तरण गर्दै गौतमले ओलीलाई संसदीय दलको नेता मात्र होइन, पछिल्लो नवौँ महाधिवेशनमा अध्यक्षमा निर्वाचित गर्नै निर्णायक भूमिका खेले ।

मदन भण्डारी फाउन्डेसनको कार्यालय, गौशालामा ओलीलाई दलको नेता र अध्यक्षमा निर्वाचित गराउन सहयोग गरेबापत गौतमले दुईमध्ये एक जिम्मेवारी पाउने, बीचैमा ओली प्रधानमन्त्री बन्दा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउने सम्झौता थियो । यो ओली–गौतम सम्झौता लागू भएन । तर, तत्कालीन एमाले–माओवादी केन्द्र एकतामा सक्रिय बनेका गौतम ओलीको स्वास्थ्य अवस्था कमजोर रहेकाले प्रधानमन्त्री या एकीकृत पार्टीको कार्यवाहक अध्यक्ष बन्न सकिनेमा आशावादी बनेरै क्रियाशील रहेको उनीनिकट नेताहरू बताउँछन् । गौतमको त्यो सपनामा भने त्यतिवेला ब्रेक लाग्यो, जब उनी आफ्नै गृहजिल्ला बर्दियामा ७ सय ५३ मतले पराजित बने ।

प्रत्यक्षमा उम्मेदवार नबनाएपछि रुष्ट
चुनावी पराजयको मूल कारण पार्टीकै अन्तर्घात हो भन्ने गौतमको निष्कर्ष छ । छानबिन गरेर दोषीलाई कारबाही गर्ने र उपयुक्त समयमा महŒवपूर्ण जिम्मेवारी दिने भन्दै उनलाई ओलीले नै आश्वस्त तुल्याए । त्यति मात्र होइन, ओलीले आफूनिकट नेतामार्फत पुनः उम्मेदवार बनाएर संसद्मा ल्याउने आश्वासन दिए । त्यही आशामा रहेका गौतम पार्टी एकतामा क्रियाशील बनेका थिए ।

त्यसबीचमै उनलाई संयुक्त चुनावी घोषणापत्र मस्यौदाको मात्र होइन, सरकारका लागि आवश्यक नीतिगत सुझाब दिने कार्यदलको पनि प्रमुख बनाइयो । त्यसक्रममा गौतमले सांसद बन्ने ढोका खुला राख्दै आफ्ना लागि वैकल्पिक ‘स्पेस’का लागि शक्तिशाली राष्ट्रिय विकास प्राधिकरणको अवधारणा अघि सारे । जहाँ उनी प्रधानमन्त्रीपछिको शक्तिशाली पदको जिम्मेवारी सम्हालेर राष्ट्रिय गौरवका आयोजनादेखि विकास निर्माण अभियान सञ्चालन गर्न चाहन्थे ।

पहिलो विकल्पका लागि गत भदौपछि उनी अनवरत प्रयासरत छन् । गौतमले डोल्पा, बाँके हुँदै काठमाडौं–७ बाट उम्मेदवार बनेर सांसद बन्ने योजना बुने । संसद्मा जाने र देशकै नेतृत्व गर्ने सपना पनि सायद देखे । अन्ततः ओलीकै कारण उनको सपना पूरा हुन नसकेको एक महिनाअघि मात्र निष्कर्षमा पुगे । पहिलो विकल्पमा असफल बनेपछि ओलीसँग गौतम बिच्किए । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री कार्यालय मातहत लगिएपछि अन्ततः उनी धोका खाएको निष्कर्षसहित राजनीतिक रूपले सम्बन्धविच्छेद गर्ने निष्कर्षमा पुगे । अझ प्रदेश कमिटीले अन्तर्घातमा जिम्मेवार रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेका पूर्वसांसद श्याम ढकाललाई उल्टै प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएपछि गौतम छाँगाबाट खसेजस्तो भए । उनले ओली धोकेवाज भएको निष्कर्ष पनि त्यसपछि निकालेका हुन् ।

एक व्यक्ति : एक जिम्मेवारीको प्रस्ताव
प्रधानमन्त्रीले ओलीले पार्टी अध्यक्षको कार्यकारी भूमिका निर्वाह गर्न नसकेको आलोचना गर्दै गौतमले एक व्यक्ति : एक कार्यकारी जिम्मेवारीको प्रस्ताव गरेका थिए । दुई अध्यक्षलाई दुई फरक–फरक भूमिका दिनुपर्ने उनको मत थियो । प्रधानमन्त्री रहेका अध्यक्ष ओलीले प्रभावकारी रूपमा सरकार सञ्चालन गर्नेतर्फै बढी ध्यान दिने र प्रधानमन्त्री नभएका अर्का अध्यक्ष प्रचण्डले प्रभावकारी रूपमा पार्टी सञ्चालनमा ध्यान दिने व्यवस्था गर्नुपर्छ भनी गौतमले प्रस्ताव गरे । तर, उनको प्रस्ताव पछिल्लो स्थायी समिति बैठकले पारित गरेन । कुनै पनि कमिटीको अध्यक्षता गर्न दुवै अध्यक्ष अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्नुपर्ने पनि उनको प्रस्ताव थियो । गौतमले सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति : एक प्रमुख जिम्मेवारी लागू गर्ने प्रस्ताव गरेका थिए ।

नेकपाका नेता, कार्यकर्ता तथा सदस्यहरू ऊर्जा समाप्त भएका उत्साहहीन, चिन्तित र मौनधारणका अवस्थामा छन् । यस्तो कसरी भयो ?

गुरुङ र महासेठ ओलीतिर
गौतम समूहलाई साथ दिँदै आएका स्थायी समिति सदस्य किरण गुरुङले उनको साथ छाडेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि सरकारमा सहभागी भएपछि गौतमसँग भन्दा प्रधानमन्त्री ओलीसँग निकट हुँदै गएका छन् । गुरुङले आफ्नो साथ मूल नेतृत्वमा रहेका ओलीलाई रहेको स्पष्ट पारे । ‘मलाई वामदेव कमरेडले नै भूमिगत राजनीतिमा लगाउनुभएको हो । त्यस हिसाबले उहाँसँग मेरो पुरानो भावनात्मक सम्बन्ध मात्र छ,’ गुरुङले भने, ‘तर राजनीतिक, वैचारिक रूपमा मैले मूल नेतृत्व (केपी ओली)लाई नै साथ दिँदै आएको छु र दिनेछु ।’

कस्तो छ केन्द्रीय कमिटीमा वामदेव–शक्ति ?

नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा गौतमलाई विगतमा साथ दिँदै आएका करिब डेढ दर्जन केन्द्रीय सदस्य छन् । अहिलेसम्म १५ जनाले खुलेर उनलाई साथ दिँदै आएका छन् । यो केन्द्रीय कमिटीभित्र जम्मा साढे ३ प्रतिशत संख्या हो ।

गौतमसहित उमादेवी कोइराला, केशवलाल श्रेष्ठ, गणेशसिंह ठगुन्ना, दलबहादुर राना, पद्मा अर्याल, बलराम बास्कोटा, यामलाल कँडेल, राधाकुमारी ज्ञवाली, सावित्रा कुमारी भुसाल, हरिप्रसाद पराजुली, जुलीकुमारी महतो, सुरेन्द्र मानन्धर, मोहन बानियाँ, लक्ष्मणराज ज्ञवाली गौतम समूहमा छ ।

प्रदेश तहमा पनि गौतम समूहका नेता–कार्यकर्ता केन्द्रकै हाराहारी अनुपातमा रहेको बताइन्छ । जिल्ला र भातृ संगठनमा भने एकीकरण नभइसकेकाले उनको समूहको शक्ति कति भन्ने प्रस्ट छैन । पूर्वमाले समूहको गाउँ–नगर तहसम्म संगठन–सञ्जाल भएकाले गौतमनिकट कार्यकर्ता तल्लो तहसम्म भएको अनुमान गरिन्छ ।

वामदेवसँग भावनात्मक सम्बन्ध मात्रै, मेरो साथ अध्यक्ष ओलीलाई नै छ
किरण गुरुङ, स्थायी समिति सदस्य, नेकपा
मलाई वामदेव कमरेडले नै कम्युनिस्ट पार्टीको भूमिगत राजनीतिमा लगाउनुभएको हो । उहाँसँग मेरो पुरानो चिनजान र राजनीतिक सम्बन्ध हो । त्यसकारण अहिले उहाँसँग मेरो पुरानो भावनात्मक सम्बन्ध मात्रै छ । तर, राजनीतिक र वैचारिक रूपमा मैले मूल नेतृत्व (केपी ओली)लाई नै साथ दिँदै आएको छु र दिनेछु ।

ओली नेतृत्वप्रति गौतमका यी ४ आक्रोश
१. सरकार झन्झन् अलोकप्रिय
नेपालको लोकतान्त्रिक इतिहासमा सबैभन्दा शक्तिशाली संस्थाका रूपमा रहेको वर्तमान सरकार भने दिनानुदिन अलोकप्रिय बन्दै जनताबाट विस्थापित भइरहेको छ ।

२. कार्यकर्ता दिनदिनै उत्साहहीन, मौन र चिन्तित
दुईतिहाइ समर्थन प्राप्त सरकारको पक्षमा न संसद्, न सडक, न छापा, न भाषण, न बोली, कतै पनि समाजका जिम्मेवार व्यक्ति तथा जनताले पक्षपोषण गरेको देखिँदैन । चारैतिर नेकपाका नेता, कार्यकर्ता तथा सदस्यहरू ऊर्जा समाप्त भएका उत्साहहीन, चिन्तित र मौनधारणका अवस्थामा छन् । यस्तो अवस्था कसरी सिर्जना भयो ? सरकारमा गएका र बाहिर रहेका पार्टीका नेताहरूले स्पष्ट जवाफ दिने आवश्यकता ठानेका छैनन् । सरकारका कमजोरीहरू माथि पर्दा लगाउने कोसिस भने गरिरहेका छन् ।

३. सरकार गतिहीन,योजनाहीन र विवेकहीन
विकासका प्राथमिकताहरूलाई बेवास्ता गरेपछि सरकारसँग अहिले न दूरदृष्टि छ न प्रभावकारी वार्षिक कार्ययोजना । सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियाद्वारा अभूतपूर्व गतिशीलता सिर्जना गर्दै समृद्ध समाजवाद निर्माणको सुरुवात ग-यौँ भन्ने सन्देश दिनुपर्ने अवस्थामा चारैतिर गतिहीनता, योजनाहीनता र विवेकहीनताको अवस्था देखापरेको छ ।

४. सरकार यस्तै रहे अर्को चुनावमा गम्भीर धक्का
नेपाली इतिहासको पहिलो स्थिर र शक्तिशाली सरकारको यही गति एवं अवस्था रह्यो भने अब हुने आमनिर्वाचनमा सरकारले आपूmलाई मात्र होइन, इतिहासको पहिलो शक्तिशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) लाई समेत गम्भीर धक्का लगाउने पक्का देखिन्छ । आज प्राप्त भएको दुईतिहाइ बहुमत आफैँलाई च्याप्ने बोझ बनेर प्रकट हुने सम्भावनाबारे बौद्धिक व्यक्तित्वहरू विश्लेषण गर्न लागेका छन् ।
(पार्टी र सरकारसम्बन्धमा गौतमले पेस गरेको दस्तावेजबाट)

नेकपा अंकगणितमा निर्णायक छैन गौतम समूह
ओलीसँग राजनीतिक रूपले सम्बन्धविच्छेद गरेका गौतमले अब कसलाई साथ देलान् ? यो प्रश्नमा नेकपाभित्र मात्रै होइन, बाहिरसमेत चासो छ । कतिले गौतमले ओलीलाई छाडेर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिने पनि अड्कल काट्न थालेका छन् । तर, अध्यक्ष प्रचण्ड नै तत्काल ओलीसँग विश्वासको दूरी नबढाउने ‘मुड’मा रहेकाले गौतमले उनलाई साथ दिइहाल्ने स्थिति देखिन्न ।

पार्टी र सरकार सञ्चालनका सन्दर्भमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गौतमको मत मिलेको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको कार्यशैलीको विरोध गर्दै चारैजनाले केन्द्रीय सचिवालयको पछिल्लो बैठक सल्लाहमै बहिष्कार गरेका थिए । नेतृत्वको काम गर्ने तरिकालगायत मुद्दामा तत्काल यी चार नेता एकै ठाउँमा देखिन्छन् । गौतमको सम्बन्ध प्रचण्डसँग मित्रवत् रहेकाले उनलाई नेपालले विश्वास गरिसकेको स्थिति पनि देखिन्न ।

एकीकरणले पूर्णता नपाइसकेकाले नेकपाभित्र आगामी दिनमा गुटबन्दी कसरी बन्ला भन्ने अनुमान गर्न गाह्रो छ । पछिल्ला असन्तुष्टिका मात्रै आधारमा गुटबन्दीले विचार समूहको पूर्णाकार लिइहाल्ने स्थिति पनि देखिँदैन । अर्कोतिर ओलीसँग दूरी बढाउन नचाहे पनि प्रचण्डले शक्ति आर्जनकै लागि पछिल्लोपटक चार शीर्ष नेतालाई पनि समदूरीमै राख्न चाहेका छन् ।

९ सदस्यीय सचिवालयमा गौतमसहित चार नेताहरू एक ठाउँ उभिएकाले बाँकी नेताहरूसहित ओली–प्रचण्डको बहुमत छ । ४५ सदस्यीय स्थायी समितिमा पूर्व एमालेबाट २५ र माओवादीबाट २० जना छन् । अहिलेसम्म १८ जना प्रचण्ड नजिक, ११ जना माधवकुमार नेपाल र १० जना ओलीनिकट, ३ जना गौतमनिकट र २ जना श्रेष्ठनिकट मानिएका छन् । झलनाथ खनाल कतै खुलेका छैनन् । नारायणकाजी श्रेष्ठको निकटता नेपालसँग बढेकाले उनी र उनीनिकट मानिने गिरिराजमणि पोखरेलले कसलाई साथ दिन्छन् भन्ने अहिलेसम्म टुंगो छैन ।

गौतमको निकट रघुवीर महासेठ र किरण गुरुङ छन् । तर, गण्डकी प्रदेशमा मुख्यमन्त्री चयनसँगै गौतम–गुरुङ सम्बन्ध चिसिएको छ भने महासेठ ओलीसँग पनि नजिक रहेकाले पूर्व समीकरण हेरफेर हुन सक्ने बताइन्छ । स्थायी समितिमा भने प्रचण्डले पूर्वमाओवादीभित्र पकड कायम राख्न सक्दा उनीसँग अरूको तुलनामा बढी सदस्य हुनेछन् ।

केन्द्रीय कमिटीमा गौतमनिकट डेढ दर्जन केन्द्रीय सदस्य मात्र छन् । गौतमले केन्द्रीय कमिटीमा प्रचण्डलाई साथ दिए पनि पूर्वमाओवादी समूहको बहुमत हुने स्थिति छैन । नेपालनिकट एक सय केन्द्रीय सदस्य रहेकाले गौतमले साथ दिँदा करिब एकतिहाइ शक्ति यो समूहमा पुग्न सक्ने देखिन्छ । गौतम समूह एक्लैचाहिँ निर्णायक भूमिकामा देखिँदैन ।

दुई नेताबीच फेरि पनि सम्झौता हुन सक्छ
प्रा. कृष्ण पोखरेल,राजनीतिक विश्लेषक
वामदेव गौतम वार कि पारको राजनीति गर्ने मान्छे हो । उहाँ कहिल्यै पनि बीचमा बसेर सोच्नुहुन्न । केपी ओली पूर्वएमालेका धेरै नेताहरूको सबल र दुर्बल पक्षबारे जानकार हुनुहुन्थ्यो । त्यसैले उहाँले पहिले वामदेवलाई उपयोग गरेर संसदीय दलको नेता हुनुभयो । नवौँ महाधिवेशनमा संसदीय दलको नेतामा आफैँले हराएका झलनाथ खनाललाई उपयोग गरेर अध्यक्ष बन्नुभयो । पार्टी अध्यक्ष र संसदीय दलको नेता भएकै कारण संविधान निर्माणलगत्तै पछि प्रधानमन्त्री बन्न सफल हुनु भयो । वस्तुतः उपयोगकै रणनीतिमा सफल हुँदै सरकारको नेतृत्वमा पुगेर ओलीजीले राष्ट्रवादी नेताको छवि बनाउनुभयो ।

पहिले दलको नेता या कार्यवाहक अध्यक्षमध्ये एक बनाउने वचन दिए पनि त्यो पूरा भएन । त्यसैमा केपीजीले ‘थ्रेट’ महसुस गरेर वामदेवजीले भनेजस्तै अन्तर्घातबाट उहाँलाई चुनावमा हराइएको पनि हुन सक्छ । त्यतिवेलाबाट बिग्रन थालेको दुई नेताबीचको सम्बन्ध अहिले आक्रोशका रूपमा व्यक्त भएको हो । केपीजी यतिवेला प्रतिरक्षात्मक अवस्थामा रहेका कारण सम्बन्धमा फेरि कुनै न कुनै सम्झौता हुने सम्भावना पनि देखिन्छ । वामदेवजीले सबैसँग सल्लाह नगरी पार्टीभित्र भिन्न दस्तावेज ल्याउनुभएकाले उहाँको पछि ठूलो समूह लाग्ने स्थिति भने देखिँदैन ।

यी सबै पक्षलाई हेर्दा उहाँहरूबीचको सम्बन्ध छिनोफानो हुने गरी वार–पार भइहाल्छ भन्ने मलाई लाग्दैन । फेरि यो कुनै सिद्धान्तको लडाइँ पनि होइन, फगत अवसरको लडाइँ मात्र न हो । त्यसैले कहीँ न कहीँ फेरि सम्झौता हुन सक्छ । अथवा नयाँ ढंगको गुट समीकरण बन्न सक्छ । वामदेवजीले सम्बन्धमा वार–पार गर्न खोजे पनि केपीजीले आन्तरिक द्वन्द्व समाधानको धेरैमध्ये ‘डिलेइङ ट्याक्टिस’ अपनाउनुभएको छ । यो युक्तिबाट अघि बढ्दा को–कति बलियो छ, को–कहाँसम्म जान सक्छ भन्ने कुरा थाहा हुन्छ र थप कदम चाल्न सहज हुन सक्छ भन्ने लागेको हुन सक्छ ।

पूर्वएमालेभित्र शीर्षस्थ नेतालाई एक–अर्काको सबल र दुर्बल पक्ष राम्रोसँग थाहा छ । ती दुवै कुराको अधिकतम उपयोग अहिलेसम्म केपीजीले नै गर्दै आउनुभएको देखिन्छ । उपयोगकै रणनीति सफल भएकैले उहाँ अहिलेको स्थानमा पुग्नुभएको हो । तर, सरकार बनाउने र चलाउने विल्कुल फरक विषय हो । अहिलेको समस्या सरकार चलाउन सक्ने सामाथ्र्यसँग जोडिएको छ । कसैले पनि सबल र दुर्बल पक्षलाई लामो समयसम्म उपयोग गर्न सक्दैन । एउटा खास चरणमा वामदेव, झलनाथ र माधवजीसहित तीनैजनालाई केपीले उपयोग गर्नुभएको छ ।

दुई नेताबीचको सम्बन्ध छिनोफानो हुने गरी वारपार भइहाल्दैन किनभने यो कुनै सिद्धान्तको लडाइँ होइन, फगत अवसरको लडाइँ हो

राजनीतिमा वेलाबखत सम्झौता हुन सक्छ । तर, त्यो बिन्दुमा नपुग्दै कुनै व्यक्ति वा समूहको शक्ति क्षयीकरणका कारण सम्झौता नहुन पनि सक्छ । जस्तै : झलनाथ खनाल कुनैवेला अध्यक्ष हुनुहुन्थ्यो तर अहिले सीमान्तीकृतजस्तो हुनुभएको हो कि जस्तो देखिन्छ । उहाँले राष्ट्रपति दाबी गर्नुभएको थियो, तर बन्न सक्नुभएन । वरिष्ठ नेताको मर्यादाक्रममा समेत पछि पर्नुभयो । पार्टी एकता गर्दा माधव नेपाललाई उपयोग गरेर केपीले मर्यादाक्रममा तलमाथि गर्नुभयो । त्यसैले अहिले पूर्वएमालेभित्र ठूलो राजनीतिक–सैद्धान्तिक लडाइँ नभएकाले समयक्रममा वामदेवजीलाई सहयोग गर्ने कतिपय नेताहरू नै व्यक्तिगत अवसरका लागि उहाँको साथमा नहुन पनि सक्छन् ।

पार्टी एकीकरण प्रक्रियामा पूर्वमाओवादीमा भन्दा एमाले समूहमै बढी असन्तुष्टि र आक्रोश देखिएको छ । यसभित्र पुरानो गुटगत स्वार्थ जोडिएको छ । अर्कातिर, पूर्वमाओवादी एकीकरण प्रक्रिया नटुंगिएसम्म ‘वेट एन्ड सी’ (पर्ख र हेर)को रणनीतिमा देखिन्छ । किनभने यो प्रक्रिया नटुंगिँदा पूर्वएमालेलाई भन्दा माओवादीलाई नै घाटा हुने निश्चित छ । किन पनि उनीहरू पर्ख र हेरको रणनीतिमा छन् भने एक्लाएक्लै कुराकानी हुँदा नै माओवादीले आफू बढी लाभान्वित हुने ठानेको छ ।

केन्द्रीय कमिटीको एकीकरणमा भन्दा प्रदेश कमिटी बन्दा पूर्वमाओवादीले आफ्नो ‘पोजिसन’ बलियो बनाएको छ । पूर्वएमालेभित्र बढी तिक्तताका कारण केपीजीलाई माओवादीलाई नै पुलपुल्याउनुपर्ने बाध्यता छ । प्रचण्डसँग आफ्नो स्वार्थका लागि ‘कार्ड ओपन’ गर्ने विकल्प बाँकी नै छ । केपी ओली भेनेजुएला गएका बेला छुट्टै बैठक बसेको घटनाले पनि उनीविरुद्ध कार्ड खुल्न सक्ने प्रस्ट संकेत गरिसकेको छ । आफूलाई सधैँ केन्द्रबिन्दुमा राख्ने कार्यशैली, अरूलाई गन्दै नगन्ने, भेटै नदिने, बोलाएकालाई पनि समयमै नभेट्ने शैलीप्रति पूर्वएमालेका नेताहरू त पहिल्यैदेखि वाक्कदिक्क छन् । त्यसो त प्रचण्ड पनि दिक्दारीमा पुगिसके पनि उनले बाहिर त्यसलाई अभिव्यक्त गरिहालेका छैनन् ।

यी सबै परिप्रेक्ष्यमा वामदेव एक्लैले केही गरिहाल्ने देखिन्नँ । बिस्तारै हुँदै जाने ध्रुवीकरणले लिने आकारका आधारमा को–कुन समूहतिर लाभाहानि हेरेर लाग्छ भन्ने देखिन पनि केही समय कुर्नुपर्ने हुन्छ । धेरै उपयोग भएँ भन्ने लागेपछि ‘अब धक्का दिन्छु’ भन्दै वामदेवजीले सम्बन्धमा वार–पार चाहनुभएको हो तर त्यस्तै भइहाल्ने परिस्थिति नेकपामा अहिले देखिँदैन । गरिहाल्दा वामदेवलाई क–कसले साथ दिन्छन् प्रस्ट देखिँदैन । किनभने, उहाँले स्थायी समितिमा फरक राजनीतिक दस्तावेज आफ्नै समूहभित्रै पनि छलफल गरेर ल्याउनुभएको हो भन्ने देखिन्न । नयाँपत्रिकाबाट

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्