नमागेको सल्लाह शेरबहादुर देउवालाई -‘जनताको भाषा किन बोल्नुहुन्न देउवा दाइ ?’


 


केशवप्रसाद भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने’ भन्नुभएको पढियो ।

शेरबहादुर दाइलाई त्यस्तो दाबी गर्ने बानी छ ।

२०५८ मा आफूले विघटनको लागि सिफारिश गरेको प्रतिनिधि सभाको चुनाव गराई छोड्ने दाबी पनि थियो उहाँको ।

अनि प्रधानमन्त्रीको सिफारिसमा विघटित र सर्वोच्च अदालतले समेत उक्त विघटनलाई सदर गरिसकेको अवस्थामा अब प्रतिनिधि सभाको पुनर्स्थापना असम्भव भनेर पनि उहाँ र वरिपरी बसेर उहाँलाई मन्त्रदान गर्नेहरू भनिरहन्थे ।

माओवादीसँग मिलेर सरकार बनाउँदा र रेणु दाहाललाई भोट हाल्न ह्विप जारी गर्दा एकाध महिनाभित्रै आफूहरूसँग सरकार चलाइरहेको दल विपक्षीसँग चुनावी तालमेल गर्न त के यौटै पार्टी बनाउन जालान् भनेर पनि अनुमान गर्नुभएको थियो होला र शेरबहादुर दाइले ।

भारत, अमेरिका, क्यानाडा, रूस, अस्ट्रेलिया, ब्राजिल, जस्ता मुलुकको आवश्यकता होला संघीयता ।

तर, नेपालको होइन ।

स्विटजरल्याण्ड, बेल्जियम जस्ता मुलुकको सन्दर्भ नेपालको सन्दर्भमा तुलना नै गर्न नसकिने किसिमले अर्कै हो ।

जुन आवश्यक होइन, त्यो बाँच्दैन । टिक्दैन । टिकाउन सकिन्न ।

नेपाल जस्तो सानो मुलुकमा स्थानीय पहिचान दिन यी स्थानीय निकायहरू पर्याप्त छन् । स्थानीय स्वशासनको अधिकार प्रचलन गराउन पनि ती पर्याप्त छन् ।

निधिजीहरूको प्रसन्नताका लागि यस्ता दाबी गर्ने बानी छोडौँ दाइ ।

तपाईंका भनिएकाहरुले यो अवस्थामा लगिसके तै पनि ???

एउटा अर्को कुरा पनि पक्का जस्तै हुनुपर्दछ- रामचन्द्र दाइ, कृष्ण सिटौला र प्रकाशमानहरूले जुन दिनसम्म तपाइँलाई चुनौती दिइरहन्छन् त्यतिन्जेलसम्म तपाईं काङ्ग्रेसमा निर्विकल्प हो ।

उनीहरूले लत्तो छोडेका दिन पार्टीमा तपाईंका बलिया विकल्प निस्कन्छन् ।
त्यसैले उनीहरूलाई प्रवल विरोधी बनाइरहनुस् ।

अरू सशक्त प्रतिद्वन्द्वीहरू विरुद्ध उनीहरू तपाईंका सुरक्षा कवच हुन् ।
तपाईंका सुरक्षा पर्खाल हुन् ।

उहाँहरूले तपाईंलाई चुनौती दिइरहुन्जेल कोही नयाँ व्यक्ति तपाइँलाई चुनौती दिन पनि आउन्नन् र रामचन्द्र, सिटौला र प्रकाशमानहरू आफ्ना लागि तपाईंलाई पल्टाउन पनि सक्दैनन् ।

यो तपाइँलाई अत्यन्त अनुकूल र सुरक्षित अवस्था हो नि, होइन ?

सामान्य अवस्थामा मुलुकमा ठूलै उथलपुथल भएन भने त आगामी निर्वाचन पछि तपाईंकै नेतृत्वमा सरकार ।

के गरुन् जनताले ?

यस्ता दाबी गर्न छोड्नुहोस् ।

कमसेकम ‘जनताले नरुचाए संघीयता र धर्मनिरपेक्षता रहन्न’ त भन्न सक्नुहुन्छ नि !

अलिअली त जनताको भाषा पनि बोल्नुस् न !

जनता खुर्लुप्प सडकमा आए तपाईंको संघीयता कहाँ बस्छ ?

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्