मलेसियाले बंगलादेशसँग पनि नेपालकै शैलीमा सम्झौता गर्दै, ४८ मेडिकल छानिए


 


काठमाडौं फागुन २२
नेपालसँग गरेको द्धिपक्षीय श्रम समझदारी अनुसार कामदार लैजान नपाएको मलेसियाले बंगलादेशसँग पनि नेपालकै शैलीमा द्धिपक्षीय श्रम सम्झौता गर्ने तयार गरेको छ । मलेसिया र बंगलादेशका अधिकारीहरुबीच भएको सहमति अनुसार मार्च १४ तारेखका दिन श्रम समझदारीमा हस्ताक्षर हुनेछ । यसअघि गत कार्तिक १२ गते नेपाल र मलेसियाबीच मलेसियामा काम गर्न जाने नेपाली श्रमिकहरूले न्यूनतम बाहेक अन्य शुल्क तिर्न नपर्ने ‘ईम्प्लाईमेन्ट पे मोडल’मा सम्झौता भएको थियो ।

नेपालसँग भएको सम्झौतामा नेपाली कामदारहरुले मलेसियामा काम गर्न गए बापत म्यानपावर एजेन्सीहरूलाई उनीहरूको १५ दिनको तलब बरावरको सेवाशुल्क वापतको रकम दिनुपर्ने र त्यो रकम पनि रोजगारदाता कम्पनीले तिर्ने उल्लेख छ । त्यसैगरी कामदारको दुवैतर्फको हवाई टिकट, स्वास्थ्य परीक्षण र भिषा शुल्क पनि रोजगारदाता कम्पनीले नै व्यहोर्ने उल्लेख छ । मलेसियासँग हुने सम्झौतामा पनि यसै अनुसारका प्रावधान राखिएको बताईएको छ ।

यसैबीच मलेसियाले आफ्नो देशमा आउने बंगलादेशी कामदारको स्वास्थ्य परिक्षण गर्न ४८ वटा वायोमेट्रिक मेडिकललाई सूचीकृत गरेको छ । यसअघि मलेसियाको फरेन वर्कस सेन्ट्रलाईज्ड सिष्टममा २६ वटा मेडिकल सूचीकृत रहेकोमा त्यसलाई बढाएर ४८ पु¥याएको बताइएको छ ।
नेपाली कामदारहरुबाट भिषा शुल्क स्वास्थ्य परीक्षण शुल्कको नाममा अतिरिक्त शुल्क लिएको भन्दै नेपालले ती मेडिकलविरुद्ध मुद्दा दायर गरेपछि नेपाली कामदार मलेसिया जान पाएका छैनन् । मलेसियासँग भएको सम्झौतामा मलेसिया जाने कामदारका लागि पुरानै संरचनाबाट भिषा तथा मेडिकलको काम हुने उल्लेख भएपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आफैले ऐतिहासिक भन्दै हस्ताक्षर गरेको सम्झौता नमानेको वैदेशिक रोजगार व्यवसायीहरूको आरोप छ ।

मलेसिया श्रमिकहरूको पहिलो रोजाइको मुलुकमा पर्छ । नेपाल भित्रिने रेमिट्यान्समध्ये मलेसियाबाट ३५ प्रतिशत आउने गरेको थियो । तर नेपालबाट कामदार जान छोडेपछि नेपाल भित्रिने कूल रेमिट्यान्समध्ये मलेसियाको हिस्सा ६ प्रतिशतमात्र रहेको विज्ञहरुको भनाई छ । यस्तो अवस्थामा मलेसियाले बंगलादेशसँग श्रम सम्झौता गरेमा नेपाल हेरेको हे¥यै हुने कतिपयको बुझाई छ । यसअघि नेपालका लागि मलेसियन कार्यवाहक राजदूत अहमद फाडिल इस्माइलले नेपालबाट कामदार नगए विकल्पमा बंगलादेशबाट लगिने बताएको थिए ।

हालै मलेसिया सरकारले पूर्वन्यायाधीश दातुक सेरी हिसामुद्धिन युनुसको संयोजकत्वमा गठन गरेको विदेशी कामदार व्यवस्थापन समितिले नेपाल लगायत विदेशबाट कामदार लैजाने प्रक्रिया पुरानै हुनुपर्ने सुझाव दिएको छ । यसले पनि नेपालले तत्काल द्धिपक्षीय समझदारीको भावना अनुसार उपयुक्त निर्णय गर्न ढिला गर्न नहुने कतिपयको भनाई छ । मलेसियाका लागि नेपाली नवनियुक्त राजदूत उदयराज पाण्डेले विगत ९ महिनादेखि अवरुद्ध रहेको मलेसिया रोजगारी सुचारु गर्न पहल गर्ने र खुल्ने बताएका छन् । आफ्नो सम्मानमा गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले मंगलवार गरेको स्वागत कार्यक्रममा राजदूत पाण्डेले उक्त जानकारी दिएका हुन् ।

एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेको नेतृत्वको टोलीले राजदूत पाण्डेलाई ९ महिनादेखि मलेसिया रोजगारी बन्द हुँदा द्धिपक्षीय सम्वन्धमा समेत असर पर्न थालेको र मलेसियामा कार्यरत नेपाली कामदारले करार सकिएपछि पनि घर फर्किन समेत समस्या परेको विषय ध्यानाकर्षण गरेका थिए । त्यसैगरी प्रवासी एकता मञ्च मलेसियाले पनि नवनियुक्त राजदूत पाण्डेको स्वागत तथा कार्यकाल सफलताको कामना गरेको छ । मञ्च पदाधिकारी मंगलवार राजदूत पाण्डेको कार्यकक्षमा पुगी स्वागत तथा कार्यकाल सफलताको कामना गरेको मञ्चका सचिव दयाराम कुमालले बताए

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्