बाँदर आतङ्कले कृषक हैरानीमा


 


बेझाड, फागुन २१

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जङ्गलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ ।

आलु खन्न नपाउँदै खेतबाटै खोतलेर खाएर सखापै पारेको कृषक केदारप्रसाद बस्यालले बताउनुभयो । उहाँले यस वर्ष उन्नत जातको (प्रिभेसी खुमल उज्ज्वल) एक हजार दाना आलु लगाउनुभएको थियो । “नयाँ प्रजातिको महँगो मूल्यमा बीउ खरीद गरेर आलु लगाएको, खन्न नपाउँदै बाँदरले खेतबाटै खाएर सखापै पा¥यो”, बस्यालले भन्नुभयो । बस्यालले प्रतिदाना रु १५ मा बीउ खरीद गरेर नयाँ प्रजातिको आलु लगाउनुभएको थियो ।

त्यस्तै अर्का कृषक अम्रिका सुनारको पनि खन्ने अवस्थामा रहेको आलु बाँदरले खेतमा पसेर नष्ट पारेको छ । उहाँको करीब एक रोपनी क्षेत्रफलमा लगाएको आलु बाँदरले पूरै खाएर नष्ट पारेको बताउनुभयो ।

करीब २०० को समूहमा बाँदर गाउँमा एकै पटक पसेर अन्न, तरकारी बाली सबै नष्ट पार्न थालेछि यहाँका कृषक चिन्तित बनेका छन् । घरभित्रै पसेर धान, गहुँ, मकैलगायतका अन्न पनि खाइदिने गरेको छ । समूहमा गाउँमा पसेका बाँदरले मानिसलाई नै आक्रमण गर्न थालेको नेत्र अर्यालले बताउनुभयो । “घरमा वृद्धवृद्धा र बालबालिकालाई मात्र छोड्न नहुने अवस्था आएको छ, बाटोमा हिँड्दा, घरमा बस्दा ठूलो सङ्ख्यामा आएको बाँदरले मान्छे देखेपछि एक्कासि आक्रमण गर्न थालेको छ”, अर्यालले भन्नुभयो ।

खेतमा लगाइएका आलु, बन्दा, काउली, गहुँलगायतका बालीनाली बाँदरले खाएर नष्ट पार्न थालेपछि यहाँका कृषक चिन्तामा छन् । हुँगीको विशेषगरी च्याङलिङ नौगाउँका कृषक बढी बाँदर आतङ्कको मारमा परेका छन् । यहाँका कृषकको दिनचर्या हिजोआज बाँदरको रेखदेख गर्दैमा बित्ने गरेको छ । यो क्षेत्रमा प्रशस्त कृषि बाली उत्पादन हुने गर्छ । यस वर्ष बाँदर आतङ्कले उत्पादन लिनै नपाइएको कृषकको गुनासो छ । रासस

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्