डीआईजीकै गाडीलाई काटियो कारबाहीको चिट


 


काठमाडौ । नेपालको ऐन ठूलालाई चैन, सानालाई जसरीपनि लाग्ने भन्दै गुनासो गरिन्थ्यो । तर ठूलै माछोपनि कहिलेकाही जालमा पर्छ । यस्तै भएको छ । नो–पार्किङमै पार्किङ गरिएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को गाडीलाईपनि कारबाहीको चिट काटिएको छ ।

शुक्रबार दिउँसो नर्भिक हस्पिटल अगाडि पार्किङ गरेको तस्वीर सार्वजनिक भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गाडीमाथि कारबाही गरेको हो । वायोमेडिकल वैज्ञानिक डा. समिरमणि दीक्षितमा ट्वीटरमार्फत उक्त तस्वीर सार्वजनिक गरेपछि ट्राफिक प्रहरीले गाडी धनीको खोजी गरेको थियो । दीक्षितले तस्वीरसँग लेखेका थिए, ‘आउनुस्, ट्राफिक नियम उल्लंघन गरौं । स्थानः नर्भिक अस्पताल अगाडि । समयः फोटो खिच्दा १६ः३० बजेको र यो ट्वीट गर्ने समयसम्म पनि त्यहीँ खडा ।’

ट्वीटमा ट्राफिक महाशाखाको ह्याण्डलबाट शुक्रबारै रिप्लाई गरिएको थियो, ‘सूचनाका लागि धन्यवाद । उक्त सवारी चालकलाई हामी चाँडै कारबाही गरी जानकारी गाउँछौं । जय नेपाल ।’

हामीले उक्त सवारी साधनलाई कारवाही गरिसकेका छौं । धन्यवाद ! जय नेपाल !

यद्यपि, कारबाही हुनेमा धेरैले आशंका गरेका थिए । स्वयम् दीक्षितले लेखेका थिए, ‘जय नेपाल । यहाँकै परिवार पर्नुभएछ, गाह्रो भए पनि कारबाही हुन्छ भन्ने विश्वास लिएँ ।’ नभन्दै त्यसको दुई दिनपछि महाशाखाले बा १ झ ६४०८ नम्बर गाडीमाथि कारबाही गरेको प्रमाण सार्वजनिक गरेको छ । तस्विर ट्वीटर

आफूहरुले गाडीलाई कारबाही गरिसकेको जनाउँदै सार्वजनिक गरिएको विवरण अनुसार चालक छत्रबहादुर थापाले आइतबार दिउँसो १२ः१५ बजे महाशाखामा गएर ५ सय रुपैयाँ जरिवाना रकम तिरेका छन् । उनले रकम तिरेको ग्लोबल आईएमईआई बैंकको भौचर समेत ट्राफिकको ट्वीटमा संलग्न छ । यद्यपि, गाडी कुन डीआईजीले चढ्ने गरेका थिए भन्ने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्