जेष्ठ नागरिकलाई बृद्धभत्ताको सुरवात गर्ने पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अत्यन्तै गम्भीर
काठमाडौं, फागुन १८
विगत तीन हप्तादेखि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराईरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुराना नेता एवम् पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर अवस्थामा पुगेको छ ।
ह्याम्स अस्पतालले आज पत्रकार सम्मेलन गरेर अहिले अधिकारीका सबै महत्वपूर्ण अंगहरुले काम गर्न छाडिसकेको जनाएको छ । ‘उहाँको स्वास्थ्य अवस्था सुध्रन सकेको छैन, अहिले कृत्रिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखिएको छ,’ डा. हेमराज पनेरुले भन्नुभयो, ‘उहाँलाई बचाउन सक्ने अवस्था न्युन छ, अहिले हामीले उहाँलाई सजिलो हुने उपचार मात्रै गरिरहेका छौँ । ’
अधिकारी फोक्सो तथा मुटुको समस्या भएपछि अस्पतालमा उपचाररत छन् । अधिकारी अर्थमन्त्री हुँदा बृद्धबृद्धालाई भत्ता दिन सुरवात गर्नुका साथै आफ्नो गाउँ आफै बनाऊ कार्यक्रम मार्फत गाउँगाउँमा बजेट पठाउने लोकप्रीय कामको सुरवात गरेका थिए ।
प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार