वामदेवले भने– मविरुद्ध फेरि षडयन्त्र भो, रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा चुनाव लड्दिन


 


काठमाडौं, फागुन १८

नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि षडयन्त्र शुरु भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पोखरा पुगेको घटनालाई लिएर आफू विरुद्ध षडयन्त्रपूर्ण भ्रम फैलाएको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली राजनीतिक आकासमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महशुस गर्दै श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार हो ।’

उनले पार्टीले निर्णय गरेपनि रवीन्द्रको निर्वाचन क्षेत्रबाट आफू चुनाव नलड्ने उल्लेख गरेका छन् । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बुधबार ज्यान गुमाएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट गएको संघीय निर्वाचनमा निर्वाचित भएका थिए । गौतम भने बर्दियाबाट पराजित उम्मेदवार हुन् ।

प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्