जोगीएर हिड्न सिकाउने रबिन्द्र जब आफै जोगिएनन
गोरखा : मन्त्री रवीन्द्र अधिकारी जीवित रहेनन् भन्ने खबर सुनेपछि तत्कालीन माओवादीका कास्की जिल्ला इन्चार्ज कृष्ण धिताल शोकमग्न भए । उनले सम्झिए, युद्धका बेला पहिलोपटक भेट्दा जोगिएर हिँड्न सिकाएका रवीन्द्र अधिकारी आज आफैं जोगिन सकेनन् ।
‘पार्टीले मलाई २०६१ फागुनमा कास्की जिल्लाको इन्चार्ज बनाएर पठाएको थियो । पश्चिम क्षेत्रीय कमान्डमा पोस्टबहादुर बोगटी र पोखरा ब्युरोमा शक्ति बस्नेत हुनुहुन्थ्यो । कास्की गइसकेपछि सुदर्शन खतिवडा भाइले बेगनास तालनजिकै भँगेरी भन्ने ठाउँमा रवीन्द्र र मेरो भेट गराएका थिए ।’ त्यतिबेला जनयुद्ध र जनआन्दोलनका विविध पक्षमाथि छलफल भएको जानकारी धितालले दिए ।
उनले भने, ‘उहाँले अन्तिममा छुट्ने बेलामा ल है, बडो होसियारीसाथ हिँड्नुहोला । बाँचेर राजनीति गर्नुपर्छ भनेर जानुभएको अहिलेजस्तै लाग्छ ।’ जनयुद्धलाई हेर्ने दृष्टिकोण तत्कालीन एमाले नेताभन्दा रवीन्द्रको बेग्लै पाएको धिताल सम्झन्छन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ
जनयुद्ध र जनआन्दोलनका बेला आफू, कांग्रेस नेता यज्ञबहादुर थापा र रवीन्द्र अधिकारी तीनजनाको अघोषित स्टेरिङ कमिटीजस्तै बनेर काम गरेको धिताल सम्झन्छन् । ‘जनयुद्धमा उहाँको सकारात्मक भूमिका थियो । हाम्रा कतिपय घाइते, बिरामीलाई सहयोग गर्ने, सूचना र सम्पर्कका कुरामा नजिकबाट हामीसँग जोडिइरहनुहुन्थ्यो । २०६२÷६३ को जनआन्दोलनका बेलामा उहाँ, म र कांग्रेसका यज्ञ दाइको अघोषित स्टेरिङ कमिटीजस्तै थियो’, धिताल भन्छन्, ‘उहाँ माओवादीप्रति बढी उदार हुनुहुन्थ्यो ।
माओवादी राजनीतिक शक्ति हो, उनीहरूको एजेन्डा राजनीतिक एजेन्डा भएकाले फौजी ढंगले नभई राजनीतिक ढंगले हल गर्नुपर्छ भनेर बहस गर्नुहुन्थ्यो ।’ अन्य राजनीतिक दलसँग समन्वय गर्न पनि अधिकारीले निकै सघाएको उनले जानकारी दिए । उनले भने, ‘जेलमा रहेका हाम्रा साथीबारे बुझ्न पनि उहाँमार्फत सजिलो हुन्थ्यो । आइसिआरसीसँग सीधै भेट गर्न हामीलाई गाह्रो हुन्थ्यो । यसमा अधिकारीले सहजकर्ताको भूमिका खेल्नुहुन्थ्यो ।’
संविधानसभाको सभासद् हुँदा पनि सँगसँगै काम गर्ने अवसर जुरेको सम्झँदै धितालले अधिकारीका तीन स्वभाव अनुकरणीय औंल्याए । ‘विद्यार्थी जीवनको सानै उमेरमा पनि निडर, स्पष्ट बोल्ने र शीघ्र निर्णय गर्ने उहाँको क्षमता अनुकरणीय छ’, धिताल भन्छन्, ‘उहाँ मन्त्री भइसकेपछि बजेट बनाउने बेलामा गत वर्ष वैशाखमा भेटेको थिएँ । तिब्बत जोड्ने गरी गोरखामा सेनाले सडक बनाउने भएपछि तीनवटा बाटोलाई पर्यटन पदमार्गका रूपमा विकास गर्नुपर्छ भनेर प्रस्ताव राखेको थिएँ । त्यो भेट नै अन्तिम भेट थियो ।’ आफूले अधिकारीलाई दूरदर्शी नेताका रूपमा चिनेको धिताल बताउँछन् ।
प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार