भरतपुरकी मेयर दाहाल भन्छिन्ः उपमेयरका नातागोतालाई जागिर नदिँदा चरित्र हत्या गरियो


 


चितवन, फागुन १५

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरी एकअर्का प्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

उपमेयर शाहले लगाएकी आरोपको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर दाहालले उपमेयर शाहमाथि धेरै आरोपहरु लगाईन् । मेयर दाहालले अहिलेको विवादको सिर्जना उपमेयर शाहले भनेको व्यक्तिले जागिर नपाउँदा समस्या आएको बताईन् । उनले भनिन्–“अहिलेको अवस्था सिर्जना हुनुको चुरो अर्कै छ, उपमेयर ज्यूको भतिजिलाई महानगरमा जागिर मिलाउन नसक्दा यो अवस्था आएको हो ।” उनले उपमेयर शाहले आफ्नो सचिवालय देखि सबै क्षेत्रमा नातागोतालाई नै जागिर लगाएको समेत आरोप लगाईन् ।

यस्तै मेयर दाहालले उपमेयर शाहले आफू माथि मिथ्या आरोप लगाएर चरित्र हत्या गर्न खोजेको बताईन् । “मलाई व्यक्तिगत लाभ लिनु केही छैन्, महानगरको विकासमा कटिबद्ध छु, अनावश्यक विवादमा मुछेर मेरो चरित्र हत्याको प्रयास भयो ।”

मेयर दाहालले उपमेयर शाहले लगाएको एक एक आरोपको खण्डन गरिन् । उनले उपमेयर पार्वती शाहले आफुमाथि लगाएका आरोप पुष्टी गर्न चेतावनी समेत दिइन् । उपमेयरले लगाएका सबै आरोप झुटा र मनगडन्ते भएको उनले दावी गरिन् । उपमेयरले आफ्ना ४ जना नजिकका नातेदारलाई सचिवालयमा राखेको र एकजना भतिजिलाई कम्प्युटर अपरेटर नियुक्ती गर्न ताकेता गर्दे आएकोमा प्रमुख प्रशासकीय अधिकृतले नियमले नमिल्ने भन्दै फकाएपछि त्यसैको विरोधमा उपमेयर शाह पत्रकार सम्मेलन गर्दे हिडेको प्रमुख दाहालको दावी छ । उपमेयर पनि महानगरको दोस्रो जिम्मेवार व्यक्ति भएकोले आफुमै भएको कमजोरी खोज्न र जथाभावी नबोल्न दाहालले आग्रह समेत गरिन् ।

मेयर दाहाल पत्रकार सम्मेलनमा कर्मचारीहरुको पुरै बचाउँमा लागिन् । अनावश्यक मिडियावाजी गरेर आफ्नो र कार्यकारी अधिकृतको चरित्र हत्या गर्न खोजेको भन्दै प्रमुख दाहालले आक्रोश व्यक्त गरिन् ।

जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारी एक रथका दुई पाङग्रा जस्तै भएकोले कर्मचारीलाई अनावश्यक दवाव दिएर विकासका काममा भाजो नहाल्न उनले अनुरोध गरिन् । आफुले कमजोरी गरेको भए जनताको कठघरामा उभिन तयार भएको भन्दै मेयर दाहालले महानगरकै टेवलकै वसेर छलफल गर्न आफु तयार रहेको समेत बताइन् ।

सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले आफुले कुनैदिन पनि गलत मनसाय राखी जनप्रतिनिधीलाई व्यवहार नगरेको जिकिर गरे । उनले आफूले गल्ती गरेको प्रमाण दिए माफी माग्न पनि तयार रहेको भन्दै आफू गल्ती नगरेको दावी गरे ।
भरतपुर विकासको तीव्र गतिमा अगाडि वढीरहेको सन्र्दभमा आपसी विवाद र खिचातानीले गन्तव्यमा पुग्न नसकिने भन्दै उनले नमिलेका विषयमा छलफलवाट टुंगो लगाउदै अगाडि वढ्न सवैमा आग्रह समेत गरिन् ।

हिजो राजधानी काठमाण्डौंमा पत्रकार सम्मेलन गरी उपमेयर पार्वती शाह ठकुरीले भरतपुर महानगरपालिकाका मेयर र प्रशासकिय अधिकृतले आफुलाई पेलेर काम गरेको, अनियमितता गरेको जस्ता आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्