शिक्षकले आफ्नै विद्यार्थीको अपहरण गराए, २० लाख फिरौती लिएर जिउँदै नदीमा डुबाएर मारे


 


चित्रकुट। भारतको मध्यप्रदेशस्थित चित्रकुटमा दुई जुम्ल्याहा दाजुभाइको अपहरणपछि फिरौती समेत लिएर हत्या गरिएको घटना सार्वजनिक भएको छ । पुलिसका अनुसार ती बच्चाहरुलाई ट्युशन पढाउने शिक्षकले अपहरणकारीहरुलाई अपहरण गरेर फिरौती माग्ने तरिका सिकाएका थिए । यस्तै, बच्चाका पिताबाट फिरौतीको २० लाख पाएपछि आरोपीले बच्चाहरुलाई ‘यहाँबाट छुटेपछि हामीलाई चिन्छौ ?’ भनेर सोधे । बच्चाहरुले ‘चिन्छौँ’ भनेपछि उनीहरुको हत्या गरिएको बताइएको छ ।

६ वर्षे श्रेयांश र प्रियांशलाई उनीहरुको स्कूल बसमा बन्दुक देखाएर दिउँसै अपहरण गरिएको थियो । अपहरणकर्ताले बच्चाका पितासँग दुई करोडको फिरौती मागेका थिए । तर अपहरणकर्ताले बच्चाहरुलाई पानीमा डुबाएर हत्या गरे । तेल व्यवसायी ब्रजेश रावतका ६ वर्षका जुम्ल्याहा छोराहरुको शव शनिबार राती उत्तर प्रदेशको बान्दा जिल्लाको औगासी घाटमा भेटियो । दुबैको हात–खुट्टा जंजिरले बाँधिएको थियो । अपहरणकर्ताले २० लाखको फिरौती लिएपछि बच्चाको हत्या गरिदिए ।

पुलिसका अनुसार आरोपीले दुई बच्चालाई सुरुमा क्लोरोफर्म सुँघाएर बेहोस गरेर साङ्लाले हात–खुट्टा र ढुंगा बाँधेर यमुना नदीमा फ्याँके । पुलिसले शनिबार घटनाका मास्टरमाइन्ड पदम शुक्लासहित सबै ६ आरोपीलाई पक्राउ गरेर उनीहरुले देखाएको ठाउँमा राती यमुना नदीबाट बच्चाको शव भेटे ।

रामकेश यादव ती बच्चाहरुलाई ट्युशन पढाउन उनीहरुको घरमै जान्थे । उनैले आफ्ना साथीलाई बच्चाका पिता निकै धनी भएको बताएका थिए । फेब्रुअरी १३ मा अपहरणकारीले बच्चाको परिवारलाई दुई करोड फिरौतीको माग गर्दै फोन गरे । १९ फेब्रुअरी बेलुकी ४ बजे पनि अपहरणकारीले बच्चाका पितासँग फोन गरेका थिए ।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्