भिजिट भीषामा जानेहरुले जहाज खचाखच, श्रम स्वीकृति लिनेहरुको भने विजोग


 


काठमाडौं फागुन १५
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका प्रमुख रोजगार गन्तव्यमा पर्ने कतार तथा यूएई पुग्न नेपाली कामदारहरुले हवाई टिकट पाउन लामो समय कुर्नु पर्ने भएको छ । माघ महिनाको तथ्यांक हेर्ने हो भने ती दुई मुलुकमा गरी २३ हजार ३ सय १० जना कामदारले श्रम स्वीकृति पाएका छन् । माघमा संस्थागत अर्थात् म्यानपावर कम्पनी, व्यक्तिगत, रिईन्ट्री र वैधानिकिकरणका माध्यमबाट दैनिक ती मुलुकका लागि ७ सय ८० जनाको हाराहारीमा अन्तिम श्रम स्वीकृति पाएका छन् । तर गन्तव्यमा पुग्न उनीहरुले हवाई टिकट पाउन नसकिरहेको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।

कतारमा कतार एयरवेजसहित नेपाल एयरलाईन्स र यूएईका लागि फ्लाई दुवई लगायतले उडान भरिरहेका छन् । तर सबै फ्लाईटमा कामदारका लागि भने टिकट छैन । त्यसको प्रमुख कारण हो, ठूलो धनराशी खर्च गरेर भिजिट भीषामा गएर युएईमा काम खोज्ने नेपालीहरुको चाप । नेपाल सरकारले भिजिट भीषामा कडाई गरेको बताएको छ । तर पनि त्रिभुवन विमानास्थलको अध्यागमन पार गरेर सेटिङमा उनीहरु काम खोज्नको लागि यूएई पुग्ने गरेका छन् । त्यसमा केही ट्राभल्स एजेन्सी, एजेन्ट र जहाज कम्पनीको साँठगाठ रहेको बताइएको छ ।

सरकारले वैदेशिक रोजगारीका लागि दश हजार सेवा शुल्क तोकेको छ । तर भिजिट भीषामा यूएई जानेहरुले कम्तीमा २ लाख ३० हजार देखि ५ लाख रुपैयाँसम्म एजेन्टलाई बुझाउने गरेका छन् । भिजिट भीषामा जानेहरुलाई एजेन्टले दुबई वा अबुधाबीमा एउटा कोठामा २० जनासम्म बुकिङ गरी भीषा बनाउने गरेको बताइन्छ । नेपालबाट यूएईमा काम लगाइदिने शर्तमा लगे पनि त्यहाँ पुगेपछि एजेन्ट फरार हुने गरेका छन् । त्यसैका कारण धेरै नेपाली युवाको बिचल्ली हुने गरेको छ । कतार भन्दापनि पछिल्ला दिनमा यूएईमा भिजिट भीषामा गएकाहरुको चाप धान्न नसकिने गरि बढेको बताइएको छ ।

हालै नियुक्त पाई कार्यस्थलमा जान लागेका यूएईका लागि नवनियुक्त राजदूत कृष्ण प्रसाद ढकालले नेपालमा आफ्नो विदाईमा आयोजित सबैजसो कार्यक्रममा भिजिट भीषामा जाने नेपालीहरुको समस्या आफ्नो प्रमुख चुनौती रहने बताइसकेका छन् । उनले भिजिट भीषामा नेपाली युवाहरुलाई अलपत्र पार्नेहरुको पर्दाफास गर्न समेत वैदेशिक रोजगार व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

यूएईमा एक महिना अवधिको भीषा सस्तो पर्ने हुनाले दलालले प्रायः एक महिना अवधिको भीषा निकाल्ने गरेका छन् । एक महिनाको भीषाको समयावधि सकिए पछि अधिकांश नेपाली गैरकानूनी भई अवैध रुपमा बस्न बाध्य हुने गरेका छन् भने साथमा रकम हुने वा नेपालबाट रकम मगाउन सक्नेहरुले भीषा थप्दै रोजगारीको खोजी गर्ने गरेका छन् ।

भीषा थप्नको लागि नजिकैको अर्को मुलुकमा एक्जिट जानु अनिवार्य हुन्छ । यसको लागि कम्तीमा ४ हजार दिराम (करिब १ लाख २५ हजार रुपैयाँ) लाग्ने गरेको बताइन्छ । काम पाउने कुनै ग्यारेन्टी नहुने भिजिट भीषामा रहेको अवस्थामा बिरामी परे त्यस्तो व्यक्ति माथि आर्थिक भार समेत थपिने नेपाली दूतावासको भनाइ रहँदै आएको छ । यूएईमा विदेशी यात्रुको उपचार एकदमै महँगो छ ।

भिजिट भीषामा जाने अधिकांश अलपत्र परेपछि त्यसको दोष भने नेपालका म्यानपावर व्यवसायीहरुले भोग्नुपर्ने देखिएको छ । त्यहाँका कम्पनीले अफिस गेटमै नेपाली कामदार पाउन थाले पछि लाखौं खर्च गरेर बजार प्रवद्र्धन गर्ने नेपालका म्यानपावर कम्पनीले डिमाण्ड पाउन समेत कम भएको बताइएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्