पदमकन्या क्याम्पसमा महिला क्याम्पस प्रमुख नियुक्त गर्न माग


 


काठमाडौं, १४ फागुन
बरिष्ठ र योग्यता पुगेका महिला प्राध्यापक हुँदाहुँदै पुरुषलाई क्याम्पस प्रमुख नियुक्त गर्न लागिएकोमा पदमकन्या क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुले बिरोध गरेका छन् । ऐतिहासिक पृष्ठभूमि बोकेको पदमकन्या क्याम्पसको रिक्त क्याम्पस प्रमुखमा महिला प्राध्यापकलाई विभेदपूर्ण तरिकाले क्याम्पस चिफ नियुक्त नगर्ने षडयन्त्र हुन थालेपछि विद्यार्थी संघ संगठनहरु एकजुट भएका छन् ।

पदमकन्या क्याम्पसको रिक्त क्याम्पस प्रमुखमा पीएचडी गरेको योग्य र बरिष्ठ महिला हुँदाहुँदै पीएचडी पनि नगरेका पुरुषलाई पहिलो र दोस्रो नम्बरमा सिफारिस गरिएको छ । बरिष्ठताका आधारमा पहिलो नम्बरमा सिफारिस हुनुपर्ने महिला प्राध्यापकलाई तेस्रो नम्बरमा राखिएकोमा पदमकन्या क्याम्पसभित्रै त्यसको बिरोध भएको छ । सबै प्रक्रिया पूरा गरेको बरिष्ठ महिलालाई तेस्रो नम्बरमा राखेर सिफारिस गरिनु विभेदपूर्ण भन्दै पदमकन्या क्याम्पसका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्रदेखि २१ पेज लामो हस्ताक्षर समेत बुझाएका छन् ।

पदमकन्या क्याम्पस छात्राहरुले मात्र अध्ययन गर्ने भएकाले महिला क्याम्पस प्रमुख हुनुपर्दछ भन्ने आम भावना रहिआएको छ । र, महिलालाई सशक्तीकरण गर्ने, प्रोत्साहन गर्ने र नेतृत्वमा अगाडि बढाउने कुरामा पदमकन्या क्याम्पसको विगतदेखि नै नेतृत्वदायी भूमिका रहेको इतिहास साक्षी रहेको छ, मंगलबार क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी नेतृ तुलसा पन्तले भनिन्–‘महिला प्राध्यापकहरुलाई प्राथमिकता दिएको विगत हाम्रोसामु छ ।

क्याम्पस प्रमुख नियुक्तिका लागि बरिष्ठता र योग्यताक्रमलाई पनि आत्मसात गरिएको छ । तर बिडम्बना यसपटक योग्य र बरिष्ठ प्राध्यापक महिलाहरु हुँदाहुँदै पनि विगतको परम्परा, बरिष्ठताक्रम र संविधानको मर्म र भावना प्रतिकूल हुनेगरी सम्पूर्ण सरोकारवालाहरुको चाहना विपरीत क्याम्पस संचालक समितिले सिफारिस गरी त्रिभुवन विश्वविद्यालयसमक्ष नाम पठाएको बिषयले आश्चर्यचकित र आक्रोसित बनाएको विद्यार्थी, प्राध्यापक र कर्मचारीले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

त्रि.वि.नेतृत्वलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ–अहिले महिलाहरुको सबै क्षेत्रमा समानुपातिक सहभागिताको सुनिश्चितता खोजिरहेको र ३३ प्रतिशत सहभागिता सबै निकायहरुमा कार्यान्वयन भइरहेको अवस्थामा देशकै ठूलो र महत्वपूर्ण एक मात्र आंगिक क्याम्पसमा त्यस विपरीत सिफारिस गरिनु बदनियतपूर्ण र अन्यायपूर्ण छ भन्ने हाम्रो ठहर छ । र, यो निर्णय आपत्तिजनक छ । नेविसंघ पदमकन्या क्याम्पस इकाई सभापति साधना घिमिरेले त्रिवि नेतृत्वलाई प्रश्न गरेकी छन्–त्रिविका ६१ आंगिक क्याम्पसमा कम्तीमा २० जना क्याम्पस चिफ महिला हुनुपर्नेमा किन हुन सकेको छैन, यही हो समावेशीता ? संविधानको पालना त्रिविमा हुँदैन ?

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्