नेपालमा रेल चलाउन सरकारले दुईवटा रेल अर्डर गर्यो, सिटमा ५०० जना अट्ने


 


काठमाडौं, फागुन १४

सरकारले नेपाल—भारत रेलमार्गमा रेल चलाउनका लागि अहिलेलाई दुईवटा रेल भारतीय कम्पनीलाई अर्डर गरेको छ । अर्डर गरिएका रेल आउँदो वैशाख महिनासम्ममा नेपाल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

‘‘हामीले सरकारी तहबाट नै कुरा गरेका छौं । भारतीय दूतावासबाट यसका लागि पहल भइरहेको छ,’’ विभागका महानिर्देशक मिश्रले भने । उनका अनुसार सो रेलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । भारतीय पक्षबाट पनि भारतका प्रधानमनत्री नरेन्द्र मोदीलाई नै उद्घाटनमा आउन आग्रह गर्ने सोच बनाइए पनि भारतमा लोकसभाको चुनाव हुन लागेकोले आउने–नआउने निश्चित नभएको उनको भनाइ थियो ।

उसो भए जेठ महिनादेखि नेपाल—भारत रेल चल्छ त भन्ने प्रश्नमा मिश्रले भने, ‘‘त्यो भन्दा अघि नै पनि हुन सक्छ । हेर्दै जाऔं ।’’ उनका अनुसार दुई वटा रेलको मूल्य करिब १ अर्ब रुपैयाँ पर्नेछ । उनले भने, ‘‘१ अर्ब भन्दा केही कम मूल्य पर्छ । पहिला एउटाको डेढ अर्ब जति पर्छ भन्ने कुरा भएको थियो तर त्यति नपर्ने भयो । अलि कम हुन्छ ।’’

रेल नयाँ हुने, सिट संख्या करिब ५०० जति हुने तथा उभिएर १३०० जनासम्म अट्न सक्ने महानिर्देशक मिश्रले बताए । अर्डर गरिएको रेलमा डबल इन्जिन हुने भएकाले घुमिरहनु नपर्ने महानिर्देशक मिश्रले जानकारी दिए ।

यसअघि रेल भाडामा लिने कि किनेर चलाउने भन्ने सम्बन्धमा छलफल भएकोमा भाडामा लिने भन्दा किनेरै चलाउने निष्कर्षमा सरकार पुगेर प्रक्रिया अघि बढेको हो । रेलको उद्घाटन यसअघि रामजानकी विवाहमहोत्सवकै समयमा हुने भनिए पनि त्यो निकै पर धकेलिएको जनाइएको छ । साभार – बाह्रखरीबाट

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्