गृहमन्त्रीले सार्वजनिक गरे एकवर्षे कार्यप्रगती : निर्मलाको घटनाबारे मौन


 


काठमाडौँ, फागुन १३

गृह मन्त्रालयले गृहप्रशासन सञ्चालनको एक वर्षको कार्य प्रगती विवरण सार्वजनिक गरेको छ ।  कार्य प्रगतीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यो अवधिलाई सिकाईको साथै गृह प्रशासनको सुधार र विकासको दृष्टिकोणले आधार वर्षको रुपमा लिएको बताएका छन् ।

भ्रष्टाचारप्रतिको शून्य सहनशिलताको नीतिलाई व्यवहारमा ल्याइएको र गृह प्रशासनमा विगतदेखि जरो गाडेको प्रशासनिक विकृतिहरुको उल्लेख्य मात्रामा न्यूनिकरण भएको गृह मन्त्रालयले जारी गरेको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।

२४ पेज लामो कार्य प्रगति विवरणमा गृहमन्त्रीको मन्तव्यदेखि गृह प्रशासनक सञ्चालनको एक वर्षमा हासिल भएका मुख्य १० उपलब्धिहरु बुँदागत रुपमा समावेश गरिएको छ । बुँदा नम्बर ४ मा चर्चित ३३ किलो सुनकाण्डको विषयलाई समेटिएको छ भने निर्मला पन्तको बलात्कारपछिको हत्या भएको घटनालाई कार्य प्रगतीमा समेटिएको छैन ।

कार्य प्रगती विवरणमा ‘अवैध सुन तस्करी र संगठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता प्राप्त भएको छ । सुन तस्करीमा संलग्न ७५ जना प्रतिवादीमध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरुको चल/अचल सम्पत्ति रोक्का गरिएको उल्लेख छ ।’

यस्तै शान्ति सुरक्षा र अपराध नियन्त्रण, संगठित अपराध र तस्करी नियन्त्रण, सार्वजनिक सुव्यवस्था, ट्राफिक व्यवस्थापन र पूर्वाधार विकास सहजीकरण, विपद्पछिको खोज तथा उद्धार, कारागार सुधार, अध्यागमन तथा सीमा व्यवस्थामा सुधार, राष्ट्रिय परिचयपत्र व्यवस्थापन, लागुऔषध नियन्त्रण, शान्ति प्रवद्र्धन तथा राहत वितरण, ऐन कानुन तर्जुमा, संगठन संरचना, जनशक्ति व्यवस्थापन र शासकीय सुधार, अन्तराष्ट्रिय समन्वय तथा स्थानीय प्रशासन सम्बन्धी सुधार, र भावी कार्यदिशा समेटिएको छ । रातोपाटीबाट

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्