विराटनगरमा हुने साफ महिला फुटवलको तयारी अन्तिम चरणमा


 


विराटनगर, १३ फागुन ।

दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने सो प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का र मादिभ्सको सहभागिता रहनेछ । स्थानीय शहीद रङ्गशालामा हुने प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको एन्फाका उपाध्यक्ष तथा खेल तयारी समितिका संयोजक पङ्कज विक्रम नेम्वाङले बताउनुभयो ।

साफ महिला फुटबलका लागि विराटनगर महानगरपालिकाले रु एक करोड र प्रदेश नं १ ले रु ५० लाख सहयोग गरेको एन्फाका उपाध्यक्ष किरण राईले बताउनुभयो । “आगामी दिनमा काठमाडौँबाहिर पोखरा, बुटवल, नेपालगञ्ज जस्ता शहरमा प्रतियोगिता आयोजना गर्ने योजना छ”, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भन्नुभयो ।

खेलाडीलाई अभ्यासका लागि विराटनगर जुट मिल, स्थानीय दिल्ली पब्लिक स्कूल र सुनसरीको दुहबी नगरपालिकास्थित मैदान उपलब्ध गराइएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश तथा समूह ‘वी’ मा भारत, श्रीलङ्का र मालदिभ्स छन् । प्रतियोगिता सम्पन्न गर्न करीब रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । रासस

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्