राजीनामा दिने मनस्थितिमा अर्थमन्त्री खतिवडा


 


काठमाण्डौँ, फागुन १३

अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिने बताएका छन् । पार्टीभित्र र बाहिर आफ्नो चर्को आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अर्थमन्त्रीले यस्तो प्रस्ताव गरेका हुन् ।

अर्थमन्त्री डा खतिवडाले केही दिन अगाडि नै प्रधानमन्त्री ओलीलाई आफूले ‘मार्ग प्रसस्त गर्ने’ जानकारी गराएका स्रोतले दाबी गर्यो । तर, प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा खतिवडालाई काम गरिरहन भनेका थिए ।

एक बर्ष अगाडि प्रधानमन्त्री ओलीले डा खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिदा नै पार्टीभित्र असन्तुष्टि थियो । तत्कालिन नेकपा एमालेका महासचिब इश्वर पोखरेल नै अर्थमन्त्री हुन चाहेका समाचार सार्वजनिक भएका थिए । यस्तै तत्कालिन एमालेका सचिव प्रदीप ज्ञवाली पनि अर्थमन्त्री बन्ने लविङमा रहेको भनिएको थियो ।

तर, प्रधानमन्त्री ओलीले अर्थतन्त्र बुझेको ब्यक्ति भन्दै डा खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरे । डा खतिवडा १४ फागुन २०७४ मा अर्थमन्त्री बनेका थिए । डा खतिवडा अर्थमन्त्री बनेपछि गत जेठ १५ गते बजेट ल्याएका थिए । तर, पार्टीले चुनाबको बेलामा घोषणापत्र मार्फत गरेको जेष्ठ नागरिक भत्ता बृद्धिसहितका कार्यक्रम बजेटमा नपरेको भन्दै डा खतिवडाको आलोचना झन् बढेको थियो । यस्तै सांसद विकास कोषको बजेट घटाएको भन्दै सांसदहरु पनि डा खतिवडाप्रति आक्रोशित बनेका थिए । शिलापत्र डटकमबाट

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्