उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको सुविधा बाँड्दै


 


काठमाडौं फागुन १३
नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा खर्च एक सय रुपैयाँ पाउँछन् । विदेश भ्रमणका नाममा भारत जाँदा पाँच हजार र अन्य मुलुक जाँदा सात हजार लुगाभत्ता बुझ्छन् । बिमा, चाडबाड र उपचार खर्चको पनि छुट्टै व्यवस्था छ ।

१५ दिनअगाडिसम्म निगमले प्रतिदिन करिब आठ करोडसम्म नाफा कमाइरहेको थियो । यो अनुपात कायमै छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागे पनि पुरानो घाटा पूर्ति गर्ने भन्दै निगमले मूल्य समायोजन गरेको छैन । सार्वजनिक संस्थानमध्ये सबैभन्दा आकर्षक तलबभत्ता निगमकै कर्मचारीले बुझ्छन् । निजामती कर्मचारीको तुलनामा उनीहरूको सुविधा कम्तीमा तेब्बर बढी छ । पछिल्ला चार वर्षमा निगमको प्रशासनिक खर्च ९४% ले वृद्धि भएको छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार आव ०७०/७१ मा ५० करोड ७० लाख रहेको खर्च ०७४/७५ मा ९८ करोड ३६ लाख पुगेको छ ।

लुगा धुने साबुनसमेत भत्ता पाइरहेका कर्मचारीले मागे थप सुविधा
आयल निगमका कर्मचारीले अहिले पाइरहेको तलब–भत्ता अपुग भएको भन्दै थप सुविधा माग गरेका छन् । २६ पुसमा ४९औँ वार्षिक साधारणसभामा आधिकारिक टे«ड युनियनका तर्फबाट धारणा राख्दै निगमका कर्मचारी गोपालचन्द्र राईले मासिक २ हजार महँगी भत्ता थप्नुपर्ने बताए । ‘निजामती कर्मचारीले पाइरहेको मासिक २ हजार भत्ता निगममा पनि लागू गर्न सञ्चालक समितिले निर्णय गरिदिनुपर्छ,’ उनले भनेका थिए । केही समयअघि निगम व्यवस्थापनले सञ्चालक समितिसमक्ष यातायात खर्चबापत मासिक ४५ सय थप सुविधा दिनुपर्ने प्रस्तावसमेत लगेको थियो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइत भन्छन्– बढी सुविधा छैन
निगमका अधिकांश कर्मचारीलाई प्याङ्क्रियाज, मिर्गौला फेल, मस्तिष्कघातलगायत ठूला रोग लागेको छ । चिकित्सकहरूका अनुसार यी सबै रोग पेट्रोलियम पदार्थका कारण लागेको भन्ने छ । ज्यानै माया मारेर काम गर्ने कर्मचारीलाई अहिले दिएको सुविधा बढी होइन ।

कर्मचारीलाई बोनस बाँड्न साढे तीन अर्ब संकलन
कर्मचारीलाई बोनस बाँड्न मात्र ३ अर्ब ६२ करोड निगममा छुट्याएर राखिएको छ । आर्थिक वर्ष ०६५/६६ मा निगमले ३ अर्ब ३१ करोड नाफा आर्जन गरेको थियो । त्यसवेला उसले १९ करोड ८८ लाख बोनसका लागि छुट्याएको थियो । ०७१/७२ देखि भने निगम निरन्तर नाफामा छ । अहिलेसम्म एक खर्बभन्दा बढी नाफा आर्जन गरेको निगमले बोनसका लागि मोटो रकम छुट्याएर राखे पनि वितरणमा रोक लगाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदीय समिति र तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमलाई सबै नोक्सानी पूर्ति गरेपछि मात्र बोनस वितरणका लागि सहमति दिने बताएको थियो । आर्थिक वर्ष ०७/७२ र ०७२/७३ मा मात्र २ अर्ब २६ करोड बोनस बाँड्न निगम व्यवस्थापनले माग गरे पनि संसद्को तत्कालीन उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले रोक लगाएको थियो । बोनसका लागि संकलित रकम कहिले बाँडिन्छ टुंगो छैन ।

कर्मचारीको सुविधामै ५० करोड खर्च
निगमले कर्मचारीका लागि गत आर्थिक वर्ष ०७४/७५ मा मात्रै करिब ५० करोड खर्च गरेको छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत वर्ष तलब, ज्याला र अन्य खर्च शीर्षकमा ३६ करोड ७५ लाख १२ हजार ७९९ खर्च भएको छ । त्यस्तै, कर्मचारीको औषधि–उपचार खर्च शीर्षकमा ११ करोड ६५ लाख ७५ हजार १५८ खर्च गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र्र गोइतले भने पेट्रोलियम पदार्थको जोखिममा रहेर काम गर्ने कर्मचारीलाई यो सुविधा बढी नभएको दाबी गरे ।

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्