भारतमा नेपाली युवती बलात्कार गर्ने ७ जनालाई मृत्युदण्ड


 


काठमाडाैं, पुस ७

गत फेब्रुअरी दोस्रो सातामा हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि जघन्य बलात्कारसहित हत्या गर्ने ७ जना अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ । मानसिक रोगको उपचारका लागि बर्दिया, राजापुरबाट रोहतकमा रहेका आफन्तकहाँ आएकी २८ वर्षीया सुनार युवतीलाई स्थानीय भारतीय र नेपाली कामदारले नजिकैको जंगलमा लगेर जघन्य बलात्कार गरेका थिए ।

बलात्कारपछि उनको यौनांगमा ढुंगा/फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरी अनुसन्धानमा अभियुक्तहरू पक्राउ परेका थिए । हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सीमा सिंघलले सोमबार गरेको फैसलामा अभियुक्तहरू पदम, पवन, सुनील, सरवर, राजेश, सन्तोष र मानवीरलाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

यो घटना अनुसन्धानमा ६६ जना साक्षी प्रमाणको ९ महिना लामो बयान लिइएको थियो । अदालतको यो निर्णयमा असहमति रहेमा सजायका भागिदारले उच्च न्यायालयमा अपिल गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति: ७ पुस २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्