कृषिमा निर्भर ठूलो हिस्सालाई अन्यत्र विस्थापन गर्नुपर्छ : प्रधानमन्त्री ओली


 


काठमाडौं,१२ फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भएपनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउँदै भने, “हाम्रो देशको लागि यति ठुलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ” ।

उनले यसको मतलव जबरजस्त रुपमा कृषिमा काम गरेका मानिसलाई विस्थापन गर्ने भन्ने नबुझ्न आग्रह गरे । प्रधानमन्त्री ओलीले परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्न कृषि मन्त्रालयको नेतृत्वमा भूमि व्यवस्था मन्त्रालय र सहकारीहरुलाई साथ लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले नेपालीहरुको खाद्य आदत परिवर्तन हुँदै गएकोले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने बताए । बासनादार र विदेशबाट आयात गरिएको चामलभन्दा स्वदेश मै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ, ” उनले भने ।

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्