कुलमानको अर्को लोकप्रिय काम काठमाण्डौमा बिजुलीका तार ‘अण्डरग्राउण्ड’ गर्ने


 


काठमाडौं फागुन १२
नेपाल विद्युत प्राधिकरणले काठमाडौंकोमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वकांक्षी योजना मानिएको यो कामको लागि ठेकेदार छनौट भएपछि बिजुलीका तारको जालो हट्ने भएको हो ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गततको विद्युत्को तारलाई भूमिगत गर्नसबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो ।

प्राधिकरणले गत ६ फागुनमा बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ ।

कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनु पर्ने छ ।

रकमको टुंगो लाग्यो

कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको काम गर्न २ करोड ५५ लाख ८१ अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता हुनेछ ।

कम्पनीले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा (करबाहेक) गर्ने छ ।

मध्य तथा उत्तर काठमाण्डौ (महाराजगञ्ज)का आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिनुभयो ।

‘ठेक्का सम्झौताका सम्पूर्ण प्रक्रिया पुरा गरी आगामी जेठबाट काम सुरु गर्ने लक्ष्य तय गरेका छौं’ अधिकारीले भन्नुभयो, ‘कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नु पर्ने छ ।’

प्राधिकरणल यस अघि अनुमानित लागत भन्दा महंगो दर आएपछि पुरानो टेण्डर प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गरेको थियो ।

पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने वागबजार,असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा वालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो ।

९० हजार घरमा स्मार्ट मिटर

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गरिने छ ।

तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका करिब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ ।

वितरण प्रणालीलाई भुमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ ।

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ ।

सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ ।

यो प्रविधि अपनाउँदा केही मिटरको दुरीमा दुई खाल्डा खनेरबीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिन्छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्