ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ


 


काठमाडौं फागुन ११
ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार राति भएको बम विस्फोट घटनमा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय भने खुलाइएको छैन । उनीहरुलाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।

विस्फोटमा परी एक जनाको मृत्यु भइसकेको छ भने दुई घाइते भएका छन् । ललितपुर भैंसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का र नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरूसा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको सिसा र नजिकैका ५ घरका सिसामा क्षति भएको छ । यसैबीच प्रहरीले एनसेल कार्यालयमा रहेको सीसीटीभीमा कैद भएको फुटेज अध्ययन थालेको छ । फुटेज अध्ययन पछि घटनाबारे थप तथ्य पत्ता लाग्ने प्रहरीले विश्वास लिएको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्