अब जनताका सपना पूरा गर्न अन्तिम जनयुद्ध गर्नुपर्छ : गजुरेल


 


राजविराज फागुन ११
‘देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल’का अध्यक्ष चन्द्रप्रकाश (सीपी) गजुरेलले अब देशमा अन्तिम तथा ऐतिहासिक जनयुद्ध गरेर जनताको सपना पूरा गर्नुपर्ने बताएका छन्। शुक्रबार साँझ राजविराजमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गजुरेलले अहिले नै जनयुद्धको बेला नभए पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले जनयुद्धको उठानका लागि तयारी सुरु गरेको बताए।

भ्रष्टाचार, कालोबजारी, हत्याहिंसा, बलात्कार जस्ता विषयको भण्डाफोर गर्दै सरकारविरुद्ध जनमत तयार गर्न मोर्चाले थालेको मेची महाकाली अभियानका क्रममा उनी राजविराज पुगेका हुन्। गजुरेलले कार्यक्रममा जनताको सत्ता स्थापना गर्ने विकल्पको आन्दोलन तयार भइरहेको बताए।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेलले सात वटा प्रदेशको क्षेत्रफल जोड्दा एक हजार १९ वर्ग किलोमिटर भूभाग गायब भएको भन्दै देशभक्त, वामपन्थी, प्रगतिशील तथा अग्रगामी शक्तिहरुले मोर्चा बनाएर अघि बढ्नु पर्नेमा जोड दिए।

नक्शामा भारतले मिचेको भूभाग देखाउँदै नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरीभक्त कँडेल।

प्रचण्डले घात गरेर आन्दोलन तुहाएको आरोप लगाउँदै उनले समाजवाद, समृद्ध नेपाल, सुखी नेपाली जस्ता नारा दिएर वर्तमान सरकारले सिंगो देशलाई भ्रष्टाचार, माफियातन्त्र र तस्करीको हातमा सुम्पेकाले तेस्रो जनआन्दोलनको आवश्यकता अपरिहार्य बनेकोमा जोड दिए।

मोर्चाले झापाको काँकडभिट्टा, कञ्चनपुरको गड्डाचौकी, कास्कीको पोखरा र काठमाडौंको शान्ति बाटिकाबाट एकसाथ गत फागुन ७ गते उद्घाटन गरेर अभियान सुरु गरेको क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य कृष्णदेव सिंहले बताए।

‘मेची–महाकाली अभियान सफल पारौं, अग्रगामी विकल्पको तयारी गरौँ’ भन्ने आह्वानका साथ सुरु भएको मेची–महाकाली अभियान फागुन २१ गते चितवनको भरतपुरमा सम्पन्न गरिने सिंहले बताए।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्