मोरङमा फागुन १५ देखी हात्तीपाइले रोग नियन्त्रण अभियान
विराटनगर, फागुन ११
मोरङ जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गतेदेखि अभियान सञ्चालन शुरु गरिने भएको छ । विराटनगर महानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त अभियानअन्तर्गत महानगरपालिकाले २९२ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्ने भएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महानगपालिकाका प्रमुख भीम पराजुलीले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित सबैले औषधि सेवन गरी अभियानलाई सफल बनाउने कार्यको शुरुआत गरिने बताउनुभयो । जिल्ला जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले हात्तीपाइले रोग सबै उमेरलाई लाग्ने बताउनुभयो । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनले दक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराइने बताउनुभयो ।
मोरङ जिल्लामा आव २०७३/७४ मा २१३ र ०७४/७५ मा नौ जना हात्तीपाइले रोगका बिरामी फेला परेको सो अवसरमा जानकारी दिइयो । महानगरपालिकाभित्र उक्त अभियानअन्तर्गत दुई लाख ४० हजारलाई औषधि सेवन गराउन तालीम प्राप्त १४८ महिला स्वयंसेविकासहित ४५ स्वास्थ्यकर्मी खटाइने भएको छ । महागरपालिकाका प्रत्येक वडा, विद्यालय, केन्द्रमा औषधि सेवन गराउने कार्यक्रम रहेको छ । गत वर्ष महानगरपालिकाका २६ प्रतिशत नागरिकले औषधि सेवन गरेको सोही अवसरमा जानकारी दिइयो ।
हात्तीपाइले रोग सङ्क्रमित पोथी जातको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । यो रोग लागेका मानिस अशक्त, अपाङ्गसमेत हुने गर्दछन् । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, कडा रोग लागि औषधि सेवन गरिरहेका क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मिर्गौला रोगी फोक्सोको दीर्घरोगी, छारे रोगी र २४ घण्टाभित्र ज्वरो आएका तथा कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकाले यो औषधि सेवन गर्न हुँदैन ।
यस वर्ष पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका १५ जिल्लामा यो अभियान सञ्चालन हुनेछ । बर्दिया हात्तीपाइले रोगबाट सबैभन्दा बढी सङ्क्रमित जिल्ला हो । रासस
प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार