‘रअ’को नेपालमा को–कोसँग कनेक्सन ? बढयो चलखेल


 


काठमाडौं फागुन ११
भारत प्रशासित काश्मीरको पुलवामा पाकिस्तानी आतंकवादी संगठनले गरेको आत्मघाती आक्रमणपछि भारतीय गुप्तचर संस्था ‘रअ’ ले नेपालमा आफ्ना गतिविधि बढाएको छ ।

भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्षित गरी शनिबार भएको आत्मघाती हमलामा ४६ जना सैनिकको मृत्यु भएपछि नेपालका सीमावर्ती क्षेत्रमा पनि भारतले उच्च सतर्कता अपनाएको हो ।

पाकिस्तानी आतंकबादी संगठनहरुको कनेक्सन नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुन सक्ने संभावनालाई मध्यनजर गरी रअको योजनामा भारतीय सुरक्षाकर्मीहरु ‘हाईएलर्ट’मा रहेको स्रोतहरुको भनाई छ ।

घटनापछि नेपाल– भारत आउजाउ गर्नेहरुलाई कडा चेकजाँच गर्न थालिएको छ । उच्च स्रोतका नेपाल सरकारले पनि आफ्नो भूमीमा हुनसक्ने आतंकवादी कृयाकलापको बारेमा गुप्तचर एजेन्सीलाई सक्रिय बनाएको छ ।

‘रअ’ले पाकिस्तानी आतंकवादी संगठनका व्यक्तिहरु नेपालमा हुनसक्ने अनुमानका आधारमा नेपाललाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । केही समय अघि रअको योजनामा अज्ञात समूहद्धारा दुई जना व्यक्तिको गोली हानी हत्या भएको थियो ।

सुनसरीमा रैयाब बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद अन्सारीको हत्यापछि भारतले अन्सारीलाई आतंकवादीको आरोपमा खोजी गरिरहेको खुलेको थियो । २०७१ साल चैतमा भारतको मुस्लिम आतंकवादी संगठन (इण्डियन मुजाहिद्दिन) का ४ जना सदस्यले नेपाली नागरिकता र पासपोर्ट लिएको रअले आरोप लगाउँदै आएको छ ।

‘रअ’को दाबी अनुसार त्यसरी नेपाली नागरिकता र पासपोर्ट लिनेमा डा. सहनवाज, अबु रसिद, मोहम्मद खनिद र सलमान शेख रहेका थिए । त्यस्तै अबुले मोहम्मद अहुमद दुर्मन मियाँ, खनिदले इसादी आतम र शेखले मोहम्मद भट्टु अन्सारी नाममा नेपाली नागरिकता लिएको र उनीहरुले नेपाली राहदानी पनि बनाएको सूचना भारतीय प्रहरीले नेपाललाई दिएको छ ।

सुनसरी दुहबी ९ छाताबेलीस्थित जय बाबा इटा उद्योगका म्यानेजर फिदा हुसेनको पनि सोही प्रकारले हत्या भएको थियो । जमिम शाह, फैजान अहमदको हत्या तथा युनिस अन्सारीमाथिको गोली काण्डमा पनि भारतीय गुप्तचर संस्था ‘रअ’को हात रहेको आरोप लाग्दै आएको थियो । अज्ञात समूहद्धारा हत्या गरिएका व्यक्तिहरुलाई भारतले आतंककारी संगठनसँग साँठगाँठ गरेको वा नेपाली सहयोगी भनेर आरोप लगाउँदै आएको छ ।

२०७४ साल बैशाखमा लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर कहाँ छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । उनलाई पनि रअले नेपालबाटै बेपत्ता पारेको पाकिस्तानले आरोप लगाउँदै आएको छ ।

काश्मीर घटनापछि रअको नेपाल गतिविधि निकै सक्रिय रहेको हुँदा नेपालमा रअले आरोपकै आधारमा पहिलेका जस्तै घटना घटाउने खतरा पनि देखिएको छ । स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्यूरोले भारतले खोजी गरिदिन आग्रह गर्दै आएका व्यक्तिहरुको सुरक्षाको विषयमा चासो बढाएको छ ।

काश्मीर घटनाका मुख्य योजनाकार मौलाना मसूद अजहर २० वर्ष अघि काठमाडौंबाट विमान अपहरण हुँदा शर्तसहित भारतीय जेलबाट छुटेका इस्लामिक आतंकबादी संगठन जैस ए–मोहम्मदका प्रमुख हुन् । गृह मन्त्रालय स्रोतका अनुसार भारतसँग जोडिएका सिमानादेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म सरकारले सुरक्षा सतर्कता बढाएको छ ।

सोमवार पनि भारतको पुलवामामा झण्डै १८ घण्टा सम्म सुरक्षाफौजले आतंककारीहरुसित मुठभेड गर्नु परेको थियो । सो घटनामा आक्रमणका योजनाकार मसूद अजहरका मुख्य सहयोगी अब्दुल राशिद गाजी इन्काउन्टरमा मारिएका थिए । घटनामा ५ जना सुरक्षाकर्मीको पनि मृत्यु भएको थियो ।

विगतमा भएका आतंककारी घटनाहरुमा संलग्न रहेकाहरुको सम्बन्ध सीमा क्षेत्रमा समेत देखिएकाले सतर्कता बढाईएको बताईन्छ । सीमाक्षेत्रमा तैनाथ भारतीय सिमा सुरक्षा बल एसएसबीले चेकजाँचलाई अत्यन्त कडा बनाएको छ ।

भारतमा केहि महिना भित्रै आम निर्वाचन हुँदै छ । त्यसअघि भएको आतंककारी हमलाले सुरक्षा चिन्ता बढाएको छ । एसएसबीले गस्तीलाई समेत सघन बनाएको छ । भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्