नगरपालिका हुनु त यस्तो ! कन्काईद्धारा तीन प्रतिशत ब्याजदरमा सहुलियत ऋण


 


झापा, फागुन ११

झापाको कनकाई नगरपालिकाले प्रदेश नं १ मै पहिलो पटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । विभिन्न पेशा व्यवसाय गरेर आत्मनिर्भर हुन चाहने युवाका लागि नगरपालिकाले आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

“केन्द्रीयस्तरबाट यो कार्यक्रम लागू भए पनि स्थानीय तहले आफ्नै कोष खडा गरेर युवालाई स्वरोगार बनाउन तालीम र ऋण दिने कनकाई पहिलो स्थानीय तह हो”, उहाँले भन्नुभयो, “कार्यविधि बनाएर काम अघि बढाएका छौँ, यो कार्यक्रम निरन्तर अघि बढाइने छ ।”

नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/०७६ बाट शुरु गरेको युवा स्वरोगार कार्यक्रमका लागि रु ५२ लाख बजेटसमेत छुट्याएको छ । पहिलो चरणमा कोषको रकमबाट २० युवालाई रु २४ लाख वितरणसमेत गरिसकिएको छ । “तरकारी खेती र पशुपालन तालीम दिएर रु एक लाखदेखि एक लाख ५० हजारसम्म वितरण गरेका छौँ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “दोस्रो चरणमा मजदूर वर्गलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

नगरपालिकाले दोस्रो चरणअन्तर्गत हेयर कटिङ, प्लम्बिङ, हाउस वायरिङलगायतका क्षेत्रमा काम गर्नेलाई आवश्यक तालीम दिएर रकम प्रदान गर्ने भएको हो । तालीमपछि प्राप्त रकमबाट युवाले पेशा/व्यवसाय सञ्चालनार्थ आवश्यक उपकरण खरीदमा रकम खर्चिनु पर्नेछ ।

दोस्रो चरणका लागि पनि निवेदन माग गरिसकिएको र प्राप्त निवेदनका आधारमा छनोटमा परेका युवालाई रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत युवालाई रु २१ लाख प्रदान गरिने भएको छ ।

बढ्दो विदेश पलायन रोक्न र स्वदेशमै स्वरोगार बन्न युवालाई सहयोग मिलोस् भन्ने उद्देश्यले स्थानीयस्तरमै कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले बताउनुभयो । नगरपालिकाले तीन प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराएको हो । रासस

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्