भेनेजुएलाद्वारा ब्राजिलसँगको सीमा बन्द गर्ने घोषणा
एजेन्सी : भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले ब्राजिलसँगको सीमा बन्द गर्ने घोषणा गरेका छन् । अमेरिकासहितका देशबाट मानवीय सहायता भित्रन नदिनका लागि राष्ट्रपति निकोलस मडुरोले बिहीबार रातीदेखि ब्राजिलको सीमा बन्द गराएका हुन् । उनले टेलिभिजन सम्बोधन मार्फत कोलम्बियासँगको सीमा पनि बन्द गर्ने बारे सोचिरहेको बताएका छन् ।
देशका लागि आइरहेको मानवीय सहायता सामग्री बाँड्ने विपक्षीको प्रयास रोक्न मडुरोले त्यस्तो कदम चालेका हुन । यसअघि नै भेनुजुएलाले आफ्तो उत्तरी तटतर्फको समुद्री र हवाई सीमा बन्द गरिसकेको छ । विपक्षी नेता हुँवा गुवाइडोको आग्रहमा अमेरिकाले भेनेजुएलाका लागि पठाएको मानवीय सहायता सामग्रीसीमावर्ती कोलम्बियाको शहर कुकुता पुगेको छ ।
सीमामा राष्ट्रपति मडुरोको समर्थनमा रहेका सैनिकको अवरोधका कारण सहायता सामाग्री भित्रन सकेको छैन । विपक्षी नेता गुवाइडोले भने कुकुता आइपुगेका सहायता सामग्री स्वयमसेवकमार्फत फेब्रुअरी २३ मा भेनेजुएला भित्राउने बताएका छन् ।
सोही कारण मडुरोले कोलम्बिया तथा ब्राजिलसँगको सीमा बन्द गर्न चाहेका हुन । सहायता सामग्री भित्राउने नाममा आफ्नो देशमा अमेरिकाले सैन्य हस्तक्षेप गर्न खोजेको आरोप राष्ट्रपति मडुरोको छ ।
प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार