झापाबाट देश नियाल्दै पूर्वराजा, भित्रि मधेस छिर्ने तयारी


 


काठमाडौं फागुन १०
झन्डै एक महिनादेखि राजधानी बाहिर रहेका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले झापास्थित हिमालय टि गार्डेनमा आराम गरिरहेका छन् ।

पत्नी तथा पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित झापामा रहेका उनले मुलुकको राजनीतिक अवस्था र घटनाक्रमलाई नियाँलिरहेको उ नीनिकट स्रोतले जनायो ।

बाराको सिमरा हुँदै तराईका विभिन्न जिल्ला छिचोलेर स्थलमार्गबाट दुई साताअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा आइपुगेका थिए ।

‘मुलुकमा बढिरहेको बेथिति र राजनीतिक घटनाक्रमलाई उहाँले नियाँलिरहनु भएको छ’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने,‘केही समयपछि भित्रि मधेसको पनि भ्रमणको तयारी भइरहेको छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाह केही समय झापामा नै रहनेछन् । उनले राजावादी हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गरिरहेका कतिपयसँग परामर्श र छलफल पनि जारी राखेका छन् ।राजसंस्था र हिन्दुत्व कायम राखी मध्य फागुनदेखि राप्रपाले पनि देशव्यापी प्रदर्शन पूर्वी जिल्लाबाट थाल्ने भएको छ ।

सम्भवतः राप्रपा अध्यक्ष कमल थापाको अभियान सुरु भएपछि पूर्वराजा मध्य मधेसतिरको भ्रमणमा निस्कनेछन् ।

स्रोतका अनुसार थापाले पूर्वराजासँग झापामा भेट गर्न सक्नेछन् ।यता, जनतासँग प्रत्यक्ष भेटघाट र छलफलका लागि पूर्वराजाले सुनसरी, सप्तरी, सिरहा, धनुषालगायतका जिल्लाको भ्रमण तयारी गरेका छन् ।

शिव सेना प्रमुख बस्नेतका अनुसार आउने सातादेखि उक्त भ्रमण हुन सक्छन् । सुरक्षा र प्रबन्धका लागि शिव सेनाले आफ्ना जिल्लाका पदाधिकारीलाई निर्देशन पनि दिइसकेको छ ।

पूर्वराजाले राजनीतिक घटनाक्रमलाई गहन हिसाबले नियालेको उनीद्वारा प्रजातन्त्र दिवसमा अवसरमा ७ फागुनमा जारी भएको विज्ञप्तिले पनि पुष्टि गर्छ ।

विद्यमान राजनीतिक अवस्था, भ्रष्टाचार र आयातित विषयमा राज्यसँग जनता असन्तुष्ट रहेको भन्दै जनचाहनाअनुसारको काम गर्न उनले झापाबाटै विज्ञप्ति जारी गरेका थिए ।

राजनीतिक दल र राजसंस्थाको सहकार्यमा नेपालमा प्रजातन्त्र स्थापित भएको भन्ने सन्देशसहित उनले जनचाहनाअनुसारको काममा सक्रिय हुनुपर्ने सूझावपूर्ण वक्तव्य जारी गरेका थिए ।

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्