मादुरोद्वारा ब्राजीलसँगको सीमा बन्द गर्ने घोषणा


 


एजेन्सी, फागुन १०

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ब्राजीलसँगको आफ्नो सीमाना बन्द गर्ने विहीबार राति घोषणा गरेका छन् । विदेशी मानवीय सहयोग सम्बन्धी विवाद बढिरहेको बेलामा भेनेजुएलाका राष्ट्रपतिले सो घोषणा गरेका हुन् । उनले टेलिभिजन मार्फत गरेको सम्बोधनमा आफूले कोलम्बियासँगको सीमा समेत रोक्ने बारेमा विचार गरिरहेको जनाएका छन् ।

विपक्षी नेता जुआन गुआइडोले राजधानी काराकास र कोलम्बियाको सीमा क्षेत्र सम्म राहत सम्बन्धी गतिविधि अगाडि बढाएकोले मादुरोले सीमा बन्द गर्ने जनाएका हुन् ।

भेनेजुएलाको सेनाले अहिलेसम्म कोलम्बियाको सीमाबाट अमेरिकी राहत सामग्री भित्रिन रोकिरहेको छ । मादुरोले भेनेजुएलामा मानवीय संकट नभएको बताए पनि यसै साता उनले ३०० टन खाद्यान्न रसियाबाट आउने बताएका थिए ।

ब्राजीलले गुआइडोलाई समर्थनकालागि अन्तर्राष्ट्रिय पहल गरिरहेकाले मादुरो सो राष्ट्रसँगको सीमा बन्द गर्न लागेका हुन् । बीबीसी

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्