अब सुन तस्करीको जालो ध्वस्त बनाइयो, सिन्डिकेट अन्त्य भइसक्यो : गृहमन्त्री


 


काठमाडौं फागुन ८
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीको जालो ध्वस्त पार्न राज्य सफल भएको दाबी गरेका छन्।

विभिन्न समयमा राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै बुधबारको बैठकमा गृहमन्त्री थापाले भने– ‘सुन तस्करीको सञ्जाललाई राज्यले ध्वस्त पार्न सफल भएको छ। र, यससित सम्बन्धित जो माछा(अपराधी)हरु हुन्, उनीहरुलाई कानुनको कठघरामा ल्याइएको छ।’

थापाले यो प्रकरण अहिले त्यो अदालतमा पुगेको भन्दै अदालतले ती अपराधीलाई दण्ड दिने छ भन्ने विश्वास व्यक्त गरे।

त्यस्तै, गृहमन्त्री थापाले सिन्डिकेटको अन्त्य भइसकेको दाबी गरे। ‘कानुनी रुपमा सिन्डिकेट फेरि फर्केर आउने सम्भावना छैन’, उनले भने, ‘राज्यले सबै प्रकारका सिन्डिकेटहरु अन्त्य नीति पनि लिएको छ।’

थापाले यातायात क्षेत्रको सिन्डिकेटलाई व्यवस्थापन गर्ने काम मात्र अब बाँकी रहेको बताए। ‘यसलाई नयाँ कानुन बनाएर अन्त्य गर्ने पहल सरकारले गरेको छ। यातायातलाई व्यवस्थित गर्ने, जनताको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने काम अगाडि बढरहेको छ। अहिले एउटा कानुन बन्दैछ’, उनले भने।

यातायातलाई कम्पनी अन्तर्गत ल्याउने प्रक्रिया अहिले चलिरहेको उनले जानकारी दिए।

गृहमन्त्री बादलले निर्मला पन्त प्रकरणका विषयमा पनि बोलेका थिए।

‘निर्मला पन्त प्रकरणमा सरकारको तर्फबाट अपराधीहरुलाई शिघ्रताकासाथ कानुनको कठघरामा ल्याउन सक्नुपर्थ्यो। तर हामी सफल भएका छैनौं। तर हामीले आफ्नो प्रयासलाई तिब्रता दिएका छौं। हाम्रो विश्वास छ, उनीहरु छिट्टै कानुनको कठघरामा आउने छन्’, उनले भने।

पूर्व राजदूत केशव झाको हत्याको अनुसन्धान चलिरहेको उनले बताए। ‘त्यससँग सम्बन्धित कतिपय विषयहरु परिक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ’, उनले भने, ‘यो प्रक्रियालाई शिघ्र निष्कर्षमा पुर्‍याउनका लागि गृहमन्त्रालय कटिबद्ध छ।’

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्