पशुपति शर्मालाई काँग्रेस सांसदले ५१ हजार दिने


 


पोखरा फागुन ८
अपरिपक्व युवा संघको कारण चर्चित बन्न पुगेको लोकदोहोरी ‘गीत लुट्न सके लुट् कान्छा गीत’ लाई काँग्रेसले राजनीतिक अस्त्र बनाएको आरोप लागिरहँदा पोखराबाट काँग्रेस सांसदले पनि सर्जकलाई ५१ हजार दिने घोषणा गरेका छन् ।

सर्जक शर्मालाई युवा संघले चर्को चेतावनी दिएपछि जनताको साथ मिलेको सो गीत सडकमा घन्कियो भने संसद भवनभित्र पनि चर्चा भयो । काँग्रेस सांसद अमरेश कुमार सिंहले फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ गायक शर्मालाई दिने घोषणा पनि गरेका थिए भने सोहि दिन संसदमा सत्तारुढ नेकपाका सांसद झपडबहादुर रावलले कडा जवाफ फर्काउँदै सिंहले पशुपति शर्माको गीत गाएमा आफूले फागुन महिनाको पूरै तलब सिंहलाई नै दिने घोषणा गरेका थिए ।

पोखरामा पनि पत्रकारहरुमाझ प्रतिनिधिसभा सांसद तथा उद्योगपति सूर्यबहादुर केसीले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । मंगलबारसांसद केसीले गायक शर्मालाई प्रोत्साहन स्वरुप आफ्नो तलबभत्ता वापत आउने ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

राष्ट्रको गहना कलाकारलाई हौसला प्रदान गर्नुपर्नेमा सृजना नै मास्ने कार्य भएको भन्दै विरोध जनाए । गीतसंगीत मार्फत जनचेतना फैलाउँदै रोयल्टी मार्फत आफ्नो गुजरा चलाउँदै आएका कलाकारलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ । पछिल्लो समय लुट्न सके लुट कान्छा भन्ने गीत निकै चर्चा र विवादको उत्कर्षमा छ । गीत विवादमा तानिएपछि शर्माले नै युट्युवबाट हटाएका थिए ।

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्