कसका कारणले डुब्यो मयूर यातायात ? लगानीकर्ताको किन भयो बिचल्ली ?


 


काठमाडौं, ७ फागुन
झण्डै एकवर्षअघि २०७४ चैत १ गते विभिन्न तामझामका साथ मयूर यातायात सञ्चालनमा आएको थियो । विशेषगरी काभ्रेली जनताको सुविधालाई मध्यनगर गर्दै मयूर यातायात सञ्चालनमा आएको थियो । मयूर यातायातको अपांगमैत्री, ज्येष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई उचित सहुलियतजस्ता सुविधाले धेरैलाई आकर्षित नगरेको पनि होइन । गैर आवासीय नेपाली मोहन श्रेष्ठको लगानीमा संचालनमा आएको मयूर यातायात छोटो समयमै थला परेको खबर छ।

मयूर यातायातको त्यो तामझाम र रवाफ धेरै समय के कति कारण टिक्न सकेन ? साहु बैंक दुवै डुब्ने अवस्था किन आयो होला । यता काभ्रेली जनताले मन पराएको मयूरलाई त्यहाँकै स्थानीय समितिले भने देखि सहेका थिएनन् । काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिले मयूर यातायात सञ्चालनमा नै अवरोधको अवस्थासम्म सिर्जना गरे ।

वाईफाई सुविधासहित कोटेश्वर लोकन्थली, कौशलटार, गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक, जगाती, साँगा, बनेपा हुँदै सोही रुट तय गरेर रुट परमिट अधिकार पाएको मयूर यातायात सिन्डिकेट पक्षधरहरुको मारमा पर्न गएको हो कि ? अन्ततः स्थानीय यातायात समितिले मयूर यातायातलाई आँखाको तारो बनाए र फलस्वरुप थन्किन पुगेको यात्रुहरु बताउछन् ।

यता सरकारले भने सिन्डिकेट हटाइएको भनेर दावी गरे पनि स्थानीय यातायात समितिको दादागिरी भने अन्त्य हुन सकेको छैन । यति मात्र नभई स्थानीय प्रतिनिधिहरु नै मयूर यातायात सञ्चालनमा अवरोध खडा गर्न सडकसम्म पुगेको खबर पनि सार्वजनिक नभएको होइन । मयूर यातायातलाई देखिनसहने प्रवृत्ति यतिमा मात्र सीमित भएन । पटक पटक यसले ढुंगाको शिकार पनि सहेर बस्यो ।

सरकारले २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाएपनि मयूर यातायातमाथि हुने गरेको घटनाले अझै पनि सडकमा थोत्रा गाडीको बोलवाला रहेको प्रस्ट हुन्छ नै । यता यातायात व्यवसायीहरु पनि गाडीको संख्या धेरै भएको गुनासो गर्ने गरेका छन् । कतिपय अवस्थामा सिट फुल नै नगरी गुड्नुपरेको धेरै चालकहरु बताउँछन् ।

यता बैंकको ऋण निकालेर गाडी निकाल्ने अनि उता सिन्डिकेटले गर्दा कयौं व्यवसायीहरु कर तिर्दा तिर्दा ढाँड भाँचिएको अवस्थासम्म पुगेको गुनासो पनि नसुनेको होइनन् । एउटा यात्रुका लागि पनि खोसाखोस, हानाहान र मारामारको अवस्था आएको धेरै व्यवसायीहरु स्वीकार्छन् । यात्रुलाई सुविधान दिन र बिदेश दुख गरेर आर्जन गरेको धन खर्चेर गाडी निकाल्ने र पछि बैंक र गाडी मालिक दुवै डुबेको इतिहास मयूर यातायात कम्पनीमा पनि दोहोरिएको छ । यही हालत र अवस्था सिप्रदीको पनि रहेकोबताइन्छ।

नेपाल सरकार यातायात विभाग र यातायात कार्यालयबाट स्वीकृति लिएर सञ्चालनमा आएको मयूर यातायातको सञ्चालनमा के वाधा आइलाग्यो कसैले खोज्ने जाँगर चलाउला ? गैर आवासीय नेपाली मोहन श्रेष्ठहरुको लगानी डुब्नु भनेको नेपालको बेरोजगार अवस्थालाई मलजल होइन ? यो प्रश्नले पनि सरकारको निरीहता र विवशतल़ाई दर्शाउछ नै । सरकारले स्थानीय यातायात समितिको मनोमानीलाई नियन्त्रण गर्न नसकेको खण्डमा अरु यातायातले पनि मयूर यातायातको दुर्गति नभोग्लान भनेर भन्न सकिँदैन । साँघुन्यूज

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्