अब रंगशाला होइन, धर्मशाला बनाऔँ
चमिना भट्टराई काठमाडौं फागुन ७
धुर्मुस–सुन्तली फाउन्डेसनले केही समयअघि चितवनको भरतपुर महानगरपालिकासँग सहकार्य गरी अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । लामो समय हास्य कलाकारका रूपमा दर्शकलाई मनोरञ्जन दिँदै आएका धुर्मुस–सुन्तली दम्पतीले पछिल्ला दिनमा सामाजिक काम गर्न थालेका छन् । भूकम्पपछि काभ्रे र सिन्धुपाल्चोकमा भूकम्पपीडितका लागि एकीकृत बस्ती बनाए । त्यसपछि महोत्तरीको बर्दिबास र रौतहटमा मुसहर जातिका लागि नमुना बस्ती बनाए ।
राम्रोसँग टाउको ओत्ने घरमा बस्न नपाएका मुसहरका लागि भान्सा, सुत्ने कोठा र शौचालय सहितको सुविधायुक्त घरमा बस्न पाउनु सामान्य होइन । नागरिकको गाँस, वास र कपासको जिम्मा सरकारले लिनुपर्ने हो । तर, नेपालजस्तो देशका लागि त्यो सम्भव नहुन सक्छ । देशको अर्थतन्त्रले जनताका ती आवश्यकता पूरा नगर्ला, त्यो आफ्नो ठाउँमा छ । तर, उनीहरूले गरेको ठूला र उत्कृृष्ट सामाजिक कामले चारैतिर सकारात्मक चर्चा बुटुलिरहेको छ । सामान्य आर्थिक अवस्था भएका र नेपालजस्तो देशमा दर्शक हँसाएर बाँचेका कलाकारले सिंगो बस्ती त्यो पनि सबै प्रकारले सुविधासम्पन्न बनाउनु सामान्य होइन । यसले मान्छेमा इच्छा शक्ति भयो भने काम गर्न सकिँदो रहेछ भन्ने देखाएको छ ।
व्यक्तिले चन्दा र सहयोग जुटाएर चार वटा वस्ती बनाउन सक्छन् भने राज्यले चाहने हो भने अरू के के गर्नसक्ला भन्ने प्रश्न उनीहरूको कामले आममान्छेमा उब्जाएको छ । नेपालजस्तो गरिब देशमा चन्दा र सहयोगले बस्ती बसाउनु त्यो पनि सबै प्रकारका आधारभूत सुविधा सम्पन्न सोचनीय विषय छ ।
उनीहरूले झन्डै तीन अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने घोषणा गरी आर्थिक सहयोग जुटाउने अभियानका नेपाल बाहिर छन् । उनीहरूले गरेको अगाडिको कामको मूल्यांकन गर्ने हो भने योे काम सफल नहोला भन्न सकिन्न । सबैभन्दा ठूलो कुरा विश्वास र इमानदारी हो उनीहरूले चन्दादाता र सहयोगीबाट त्यो प्राप्त गरेको देखिन्छ । त्यति भएपछि सहयोगी हात र मनहरू उत्साही भएर खुला दिलले सहयोग गर्नेछन् । यो कुरामा सरकारले पनि गम्भीर भएर सोच्नुपर्छ । मुलुकमा वैदेशिक लगानी घटिरहका वेला सहयोगको भरमा तीन अर्बको लगानीमा रंगशाला बनाउन खोज्नु नेपालजस्तो देशका लागि ठूलो कुरा हो ।
तर, उनीहरूले जोडतोडका साथ अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन लागिरहेको वेला केही अन्य सुझाव आएका छन् । नेपालजस्तो देशमा अन्तर्राष्ट्रिय रंगशालाभन्दा वृद्धवृद्धाहरूका लागि धर्मशाला आवश्यक रहेको बताएका छन् । अर्कोतर्फ अहिलेसम्म उनीहरूले गरेको सामाजिक काम र बनाउन लागेको रंगशालाका लागि संकलन भएको पैसा सहयोग नै हो ? एक जोडी कलाकारले मागेको भरमा त्यति ठूलो रकम जुटाउन सामान्य छ र ?
यी नै आशंकाका बीचमा गम्भीर भएर सोच्ने हो भने, नेपालमा रंगशालाभन्दा धर्मशालाको बढी आवश्यक छ । हिजो मुसहर बस्ती बनाएर धेरै मुसहर वृद्धवृद्धाहरूले छोरा, काका, भाइ, दाजुजस्ता नाता सम्बन्ध कमाएका धुर्मुस–सुन्तलीजी अब तपाईंहरूले घरबाट निकालिएका, कोही नभएका, कुनै साहराविना बुढेसकालमा आँसु पिएर बसेका आमाबुबाको आशीर्वाद लिन आवश्यक छ । त्यसका लागि रंगशालाभन्दा पहिला धर्मशाला बनाउनुस् । ती बुढा बुबाआमाको आशीर्वाद लाग्छ तपाईंहरूलाई । त्यो पनि ठूलो धर्म र सामाजिक काम हुन्छ । यसले समाजमा तपाईंहरूको वाहवाह अझ बढ्छ ।
वास्तवमा यो काम राज्यको हो । बुढेसकालमा बाबुआमाको सहारा बन्न नचाहने छोराछोरीलाई कारबाही गर्ने र आफ्नो आर्थिक हैसियतअनुसार पालनपोषण गर्न बाध्य बनाउने, त्यसै गरी कोही नभएका र केही नभएकालाई राज्यले उमेर र अवस्थाको मापदण्ड बनाएर हेर्नुपर्ने हो । तर, हाम्रो देशमा त्यस्तो न कानुन छ न सरकारले त्यस बारेमा सोचेको देखिन्छ । सरकारले त्यस बारेमा आवश्यकता देखेको छ वा छैन भन्न सकिन्न ।
तपाईंहरू जब सामाजिक काममा लाग्नु नै भएको छ भने यो काम पनि गर्नूस् । अहिले रंगशाला बनाएर युवा पुस्ता र खेल जगत्को प्रशंसा पाउनुहोला । तर, नेपालको अहिलेको अवस्था आवश्यकता र त्यसको प्रभावकारिता हेर्दा पहिला धर्मशाला त्यसपछि रंगशाला बनाउन उपयुक्त हुन्छ । यो काम सरकारले गर्ने छाँट देखिँदैन । तपाईं वा तपाईंजस्तो समाजिक भावना र सहयोगी मन भएकाहरूले गर्ने हो । यसो भनिरहँदा रंगशाला आवश्यकता छैन भन्न खोजेको होइन, गर्न लागिएको काम र त्यसको प्रभाकारिता हेरेर गर्दा राम्रो हुन्छ भन्न खोजेको हो ।
नेपालको क्रिकेट खेलले पछिल्लो समय विकास गरेको छ । खेलाडीको अझै मनोबल बढाउन आवश्यक छ । उनीहरूलाई प्रर्याप्त सेवा सुविधा दिएर अझै राम्रो खेल्न सक्ने वातावरण बनाउनु राम्रो हो । तर, नेपाली युवा खेलाडीले अहिले पनि कीर्तिपुरको खुला खेल मैदानमा खेलेर पनि नेपालको नाम राखेका छन् । आउने दिनमा पनि अझै राख्नेछन् भन्नेमा शंका छैन । उनीहरूको क्षमता खेल्ने दक्षतामा कमी आउला भन्ने लाग्दैन । खेल्नका लागि सुविधा भएको रंगशाला चाहिन्छ त्यो जायज हो । तर, त्योभन्दा बढी उनीहरूका लागि राज्यले सोच्नुपर्छ । देशको इज्जत कसैले बढाएको छ भने उनीहरूको मनोबल बढाउने जिम्मा राज्यको हो ।
धुर्मुस–सुन्तलीजी तपाईंहरूले सामाजिक काममा हात हाल्नुभएको छ । यसमा नाम, इज्जत कमाउनुभएको छ । माया र आशीर्वाद पाउनुभएको छ । सबै काम तपाईंहरूले गर्ने भए राज्यको काम के ? विदेशमा हुनुहुन्छ, ती बुढा आमाबा, हजुरबा, हजुरआमाको मुहारमा खुसी ल्याउन र बाँचुञ्जेल ढुक्कले बस्नका लागि धर्मशाला बनाउने अभियानका लाग्नूस् । सहयोग त्यसैगरी जुटाउनूस् यो अहिलेको लागि आवश्यक यहीँ नै हो । नेपालका ती होनहार खेलाडी र खेलप्रेमीलाई पनि यसैमा सहयोग गर्न लगाउनूस् । अब रंगशाला होइन, धर्मशाला बनाऔँ ।
प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार