अमेरिकामा ५ हजार डलरको कमाइ छाडेर आएका यी युवा नेपालमा दिनमै एक लाखसम्म कमाउछन


 


काठमाडौं फागुन ६

अमेरिकामा मेकानिकल इन्जिनियरिङ उत्तीर्ण युवाको योजना के हुन सक्छ ? भरसक अमेरिकामै राम्रो जागिर खोज्ने

। जिन्दगी उतै ‘सेटल’ गर्ने । कास्की घान्द्रुकका राहुल क्षत्री भने गाउँ फर्किए । बुबाको होटलमा भान्से बने ।

घान्द्रुक–घोरेपानी–पुन हिल पदमार्गमा पर्ने टाडापानीमा ८ होटल छन् । तीमध्ये होटल पानोरामा प्वाइन्ट राहुलको परिवारले चलाउँछ ।

उनी होटलमा खाना बनाउँछन् । पर्यटकसँग अर्डर लिन्छन् । वेटर आफैं बन्छन् । फोन उठाएर ‘बुकिङ’ लिन्छन् । भेटेजति काम गर्छन् । २८ वर्षीय राहुल इन्जिनियरिङ पढेर पनि होटल सम्हादै आएका छन् ।

घान्द्रुक मेलाचेका उनले एसईईसम्म पर्वतको कुश्मामा पढे । पोखराबाट विज्ञानमा ‘ए लेभल’ सकाए । उच्च शिक्षा अध्ययन गर्न विदेश नै जाने साथीसँग सल्लाह भइरहेको थियो ।

अस्ट्ेरलिया, न्युजिल्यान्ड र अमेरिकामध्ये एक देश जाने उनको इच्छा थियो । दुई वर्षपछि अमेरिकाको भिसा लाग्यो । इदाहो स्टेट युनिभर्सिटीमा ५० प्रतिशत छात्रवृत्ति पाएर मेकानिकल इन्जिनियरिङमा स्नातक गरे ।

साढे ५ वर्ष अमेरिका बसेपछि उनलाई लाग्यो, ‘अब नेपालमै फर्किन्छु ।’ उनले आफ्नो होटलमा राम्रो कारोबार भएको देखेका थिए । पर्यटकसँग बोल्न पाउँदा उनलाई रमाइलो लाग्थ्यो ।

अन्नपूर्ण र माछापुच्छ्रे हिमालको छाया, गाउँका टारी खेत, पाखापखेरा खुब सम्झिए । बुबालाई नेपाल नै फर्किने योजना सुनाए । बुबाले पनि नाइँनास्ती गरेनन् । ६ महिना भयो उनी नेपाल फर्किएका ।

होटलमा पाए जति काम गर्नु उनका दैनिकी बनेको छ । ‘यहाँ छरछिमेक, आफन्तले अमेरिका छोडेर किन आइस् भने गाली गर्छन् कि जस्तो लागेको थियो,’ उनले भने, ‘तर, त्यस्तो भएन । धेरैले सकारात्मक रूपमा लिनुभयो ।’ उनी स्वयंलाई पनि यहाँ आएकोमा कुनै पछुतो छैन । अमेरिकामा भन्दा गाउँकै होटलमा बस्दा कमाइ र सन्तुष्टि बढी भएको उनको अनुभव छ ।

‘उहाँ कमाएअनुसार खर्च हुन्छ,’ उनले भने, ‘५ हजार डलर महिनाको कमाइ छ भने कर, स्वास्थ्य बिमा, खाना, फ्ल्याट भाडा, गाडीको करमा २५ सय सकिन्छ ।’ जोगाउन जाने नेपालको कमाइले जित्ने अनुभव उनी सुनाउँछन् ।

हुन पनि उनको होटलमा पर्यटकीय मौसममा दिनमै एकदेखि डेढलाख रुपैयाँसम्म कमाइ हुन्छ । गाउँ फर्किनुको पछाडि अर्को एउटा कारण पनि उनले खुलाए । अन्नपूर्ण गाउँपालिका ११, मेलाचेमा गाउँको लगभग आधा जग्गा राहुलको परिवारको नाममा छ ।

तर ती जमिनको उपयोग हुन सकेको छैन । बाझो जग्गामा विदेशी जातका फलफूल खेती गर्ने उनको योजना छ । एभाकाडो र किबीको खेती गर्ने, उन्नत जातको बाख्रा पाल्ने, अर्गानिक तरकारी खेती गर्ने सोच बनाएका छन् । उनले भने, ‘आफूमात्र नभई अरू गाउँलेलाई पनि व्यावसायिक कृषिमार्फत सक्षम बनाउने योजना छ ।’ अमेरिका छँदा उनले पानी किनेर तरकारी खेती गरेर पनि पैसा कमाउने देखेका छन् । गाउँमा प्रशस्त पानी हुँदा पनि उपयोग हुन नसकेको देख्दा कहिलेकाहीँ विरक्तिन्छन् ।

अमेरिका बस्दा गाउँघरको खानालाई उनले खुब ‘मिस’ गरे । वनको टुसा, निगुरो, सागपात खाएर हुर्केका उनलाई अमेरिकाको प्रशोधित खानाले उतिसारो तानेन । पदयात्रामा आउने पर्यटकलाई गाउँकै परिकार खुवाउँदा उनीहरूको मुहारमा झल्किने खुसीले अमेरिका बिर्साइदिने उनी सुनाउँछन् ।

उनलाई गाउँमै फर्किन उनका बुबाले सहयोगी भूमिका खेले । गाउँका युवा विदेश पलायन हुन थालेपछि कामदार अभाव भएको बेला छोरालाई गाउँमै बोलाए । छोरालाई अमेरिकासम्म पढ्न पठाउन उनले कम्ता संघर्ष गरेका थिएनन् । ३५ वर्षअघि उनी पर्यटकको भारी बोकेर अन्नपूर्ण आधार शिविर ओहोरदोहोर गर्थे ।

बाटोमा पर्ने होटलले मनग्गे कमाएको उनले देखे । तीन वर्ष भारी बोकेपछि उनले आफ्नै होटल खोल्ने सोच बनाए । घान्द्रुक–घोरेपानी–पुनहिल पदमार्गमै पर्ने देउरालीमा होटल खोले । १८ वर्ष चलाए । पर्यटक ओहोरदोहोर गर्दा कि टाडापानी कि घोरेपानी बास बस्न पुग्ने गरेपछि उनलाई स्थान परिवर्तन गर्न मन लाग्यो । देउरालीको होटल ज्वाइँ छोरीलाई बेचे । टाडापानीकी सीता गुरुङसँग होटल खरिद गरे ।

होटलकै कमाइ उनको परिवारको जीवनस्तर फेरिएको छ । पोखराको लामाचौरमा घर बनाएर माइली छोरीलाई राखेका छन् । कान्छी छोरी न्युजिल्यान्डमा अध्ययन गर्छिन् । श्रीमती र कान्छा छोरा होटलमै खटिन्छन् । आठवटा भैंसी पालेका छन् । अर्गानिक तरकारीको आफ्नैं बगैँचा छ । तीनजनालाई रोजगारी दिएका छन् । बुबाको मिहिनेत देखेका राहुल उनकै बाटोमा छन् ।

लेकसाइडमा पनि छिट्टै होटल खोल्ने योजना बनाएका छन् । इन्जिनियरिङ पढाको अनुभव अप्रत्यक्ष रूपमा प्रयोग भइरहेको उनी बताउँछन् । कमाइ र बचतबीच सन्तुलन मिलाउन सक्ने हो भने युवा विदेशिनु नपर्ने उनको बुझाइ छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्