ट्रम्पले गुनासो गर्दै भने – खोइ मलाई नोबल शान्ति पुरस्कार ?


 


एजेन्सी, फागुन ६

अमेरिकामा जारी विभिन्न विवादित विषयसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबल शान्ति पुरस्कारबारे पनि चर्चा गरेका छन् । उनका अनुसार जापानका प्रधानमन्त्री सिन्जो आबेले उनलाई नोबल शान्ति पुरस्कारका लागि मनोनयन गराएको भनि पाँच पेज लामो सुन्दर पत्र देखाएका थिए ।

उनी भन्छन्, “अरु धेरै मानिसहरुलाई पनि यस्तै लाग्छ कि सायद मैले कहिल्यै नोबल पुरस्कार पाउँदिन । तरपनि ठीकै छ ।” उनले थप भनेका छन्, “उनीहरुले यो ओबामालाई दिएका थिए जसलाई सो पुरस्कार किन दिइएको भन्ने समेत थाहा थिएन । उनी त्यहाँ केबल १५ सेकेन्डका लागि रहे र उनले नोबल शान्ति पुरस्कार पाए अनि मैले किन पाएँ भनि सोधे । तर मेरो सन्दर्भमा सायद मैले कहिल्यै पाउँदिन होला ।”

आइतबार मात्र जापानको आशि दैनिकले प्रधानमन्त्री आबेले अमेरिकाको आग्रहमा नै नोबल पुरस्कारका लागि ट्रम्पको उमेदवारी दिएको उल्लेख गरेको छ । यसरी ट्रम्पले मिडियासामु विश्वको सबैभन्दा ठूलो समस्या सुल्झाएकामा आफैँलाई श्रेय दिएका हुन् तर यस वापद् आफूले कुनै सम्मान नपाएको भनि गुनासो गरेका छन् ।

वास्तवमा उत्तर कोरियासँगको कूटनीतिक सम्बन्धमा कुरा गर्दैगर्दा ट्रम्पले यो विषयबारे चर्चा गरेका थिए । हाल उत्तर कोरिया आफ्नो आणविक कार्यक्रम बन्द गर्ने क्रममा रहेको तर बाराक ओबामा भने कोरियासँग युद्ध गर्ने अवस्थामा अत्यन्तै नजिक पुगेको उनले दाबी गरेका हुन् । उनको सो भनाइलाई ओबामाको कार्यकालका राष्ट्रिय सुरक्षा सल्लाहकारका प्रवक्ताले पूर्ण रुपमा गलत ठहर गरिसकेका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्