हिन्दू परिषदले नेपाललाई हिन्दुराष्ट्र घोषणा गराएरै छाड्ने


 


काठमाडौं, ५ फागुन
हिन्दू परिषद नेपालले नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले यस्तो घोषणा गरेको हो ।
कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष पटेलले कुनैैपनि बहाना र जबरजस्ती धर्म परिवर्तन गराउन नपाईनेमा जोड दिनुभयो । उहाँले आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिष्चियन धर्मको विरोधी नभएको तर ९० प्रतिशत हिन्दू भएको देश नेपाललाई हिन्दूराष्ट्र नै कायम गनुपर्ने माग राख्नुभयो ।

उहाँको भनाइ थियो ,‘हामी कोही पनि हिन्दूको भावनामाथि भएको अन्याय र अत्याचारलाई सहन सक्दैनौं । हामीलाई कुनै राजनीतिक दल र राजाबादीसंग जोडेर नहेर्नपनि अनुरोध गर्दछौं ।’
पछिल्लो समय मुलुकमा क्रिश्चियन धर्मसम्बन्धि गतिबिधि बढ्दै गएको आरोप लगाउँदै उहाँले पहिला हिन्दूभित्रै रहेका तल्लो जात र माथिल्लो जातको बिचको बिभेद हटाउनुपर्ने धारणा राख्नु भयो ।

उहाँले हिन्दूभित्रै जातको बिभेदमा बाँचेकाहरु नै आज आफ्नो धर्म त्यागेर अरु बाह्य धर्म अंगाल्न पुगेको आरोप लगाउनुभयो । ‘कुनैपनि राष्ट्रमा पहिले मूल धर्मलाई आत्मसात गर्नसक्नुपर्छ’–पटेलले थपे ।नेपालको संविधानमा नै जबरजस्ती धर्म परिवर्तन गर्न नपाईने भनेर स्पष्ट रुपमा लेखेको उल्लेख गर्दै उहाँले आज देशलाई नै हिन्दूविहीन बनाउन लाग्दापनि सरकारको त्यतातर्फ ध्यान तथा आँखा नपरेकोमा आपत्ति जनाउनु भयो ।

धर्म परिवर्तनको बहानामा संसारमा नेपाल र नेपालीको पहिचान बोकेको हिन्दू धर्ममाथि नै पछिल्लो समय प्रहार भएको पनि उहाँको गुनासो छ । उहाँले आगामी पाँच बर्षभित्र २५ लाख नेपालीलाई हिन्दू धर्ममा जोड्ने आफूहरुको अभियान रहेकोे पनि जानकारी गराउनु भयो । सरकारलाई दबाव दिनकै निमित्त मेची–महाकाली अभियानको शुरुवात गरिसकेको पनि उहाँको आरोप छ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाई काटेर खान गरेको आग्रहपछि उनलाई भोट दिने जनताले नै उनको पुत्ला जलाएर बिरोध गरेको स्मरण गराउँदै अध्यक्ष पटेलले भन्नुभयो,‘जनताले बाबुरामलाई राम्रो सबक सिकाए, त्यही कारण अहिले नेपालका कम्युनिष्टहरु हिन्दू धर्ममा आस्था राख्ने भएका छन । सम्पूर्ण नेपालीको एउटै भावना र धर्म भनेको हिन्दू नै हो, राजनीतिक दलहरुले एजेन्डा परिवर्तन गरेजस्तै धर्मको नाममा राजनीति नगर्न पनि म आग्रह गर्दछु ।’
आफु कुनै पार्टी तथा राजाबादी र भारतबाट परिचालित नभएको उहाँको स्पष्टोक्ति थियो ।कार्यक्रममा परिषदका महासचिव अनिरुद्ध प्रसाद सिंह, सचिवालय सदस्य भरत सरार्फ, हिन्दु महिला परिषद्को केन्द्रीय अध्यक्ष सुनिता रौनियार, हिन्दू महिला परिषद्को केन्द्रीय बरिष्ठ उपाध्यक्ष सरला कार्की, हिन्दू महिला परिषद्की उपाध्यक्ष साधना यादव र युवा परिषद्का नगर अध्यक्ष रञ्जीत चौरसियालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्