जम्मु-काश्मिर आक्रमण : मृत सुरक्षाकर्मीको सम्झनामा भारतभर शोक प्रदर्शन


 


नयाँ दिल्ली, फागुन ५

भारत प्रशासित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ)का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ भारतीयले शनिबार शोक प्रदर्शन गरेका छन्।

विवादित हिमाली क्षेत्रमा गाडीमा गइरहेका २ हजार ५ सय सुरक्षाकर्मीको दस्तामाथि जीप ठोक्काएर गरिएको आत्मघाति आक्रमणबाट मारिएका व्यक्तिहरूलाई उनीहरूको घर पठाइरहँदा भारतका विभिन्न स्थानमा शोक सभाहरू तथा प्रदर्शन भएका हुन्।

काश्मिरमा मारिएका सुरक्षाकर्मीहरूको मृत शरीर शुक्रबार नयाँ दिल्ली ल्याइएको थियो जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले एक शोक कार्यक्रमकाबीच अन्तिम सम्मान प्रकट गर्नुभएको थियो ।

सुरक्षाकर्मीका मृत शरीरलाई उहाँहरूको गाउँ वा शहरमा ल्याइएपछि स्वतस्फुर्त रूपमा जम्मा भएका भारतीयहरूले पाकिस्तान विरोधी नारा लगाउँदै प्रदर्शन गरेका भारतीय सञ्चारमाध्यमहरूले देखाएका छन्।

घटनामा पाकिस्तानको हात रहेको भारतको आरोप छ भने पाकिस्तानले आरोपको खण्डन गरेको छ।

जम्मु–कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर–जम्मु राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो। ३ सय किलोमिटरको सो राजमार्ग रणनीतिक रुपले महत्वपूर्ण मानिन्छ र सँधै सुरक्षा व्यवस्था कडा रहन्छ।

जम्मुबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो। प्रतिबन्धित चरमपन्थी समूह ुजैश ए मोहम्मदुले आक्रमणको जिम्मा लिएको छ। एएफपी

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्