यातायात व्यवस्था विभागलाई कारबाहीको सिफारिस


 


काठमाडौं ४ फागुन – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) मा नेपाली भाषा पनि राख्नु पर्नेमा त्यसो नगरेकाले विभागलाई कारबाहीको सिफारिस गरिएको हो । स्मार्ट लाइसेन्स अंग्रेजी भाषामा मात्रै छपाइ हुँदै आएको छ ।

यातायात व्यवस्था विभागले भाषा आयोगले नेपाली भाषाको प्रयोग गरेर लाइसेन्स छाप्न गरेको अनुरोधलाई बेवास्ता गरेकाले कारबाहीका लागि सिफारिस गरिएको आयोगका प्रवक्ता गणेश भट्टराईले जानकारी दिए । आयोगले विभागलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा सिफारिस गरेको छ । संविधानबमोजिम कार्य नगरेकाले कारबाहीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस गरिएको भट्टराईले बताए ।

विभागले २०७२ सालदेखि स्मार्ट लाइसेन्स छपाइ गर्दै आएको छ । आयोगले २०७५ भदौ २४ मा स्मार्ट लाइसेन्समा नेपाली भाषा प्रयोग गरी छाप्न पत्र पठाएको थियो । संविधानमा भएको व्यवस्थाअनुसार स्मार्ट लाइसेन्समा नेपाली भाषा प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्