उर्लाबारीका पत्रकार घिमिरे राससको उत्कृष्ट समाचारदाताको रपमा पुरस्कृत हुने


 


मोरङ, ३ फागुन ।

नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा देशको न्युज डटकमका कार्यकारी सम्पादक समेत रहेका उर्लाबारीका पत्रकार सुमन घिमिरे प्रदेश नं. १ कै उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत हुने भएका छन् ।

राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ को अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीको संयोजकत्वमा गठित पुरस्कार छनोट उपसमितिको सिफारिशमा पुरस्कृत हुने समाचारदाताको सूची अनुमोदन गरेको हो । घिमिरेको राससको मोरङ जिल्ला समाचारदाताको रुपमा विगत ३ वर्षदेखी कार्यरत रहेका छन् ।

यस्तै प्रदेश नं. १ बाट उत्कृष्ट आलेखतर्फ पाँचथरका रवीन्द्र काफ्ले र उत्कृष्ट फोटोतर्फ ताप्लेजुङका सन्तोषकुमार सार्की पनि पुरस्कृत हुने भएका छन् । समाचारदाताहरूले गत एक वर्षमा सम्प्रेषण गरेका समाचारको संख्या, तिनको प्रभाव, गुणस्तर एवं भौगोलिक, जातीय र लैङ्गिक समावेशिताका आधारमा पुरस्कारका लागि छनोट गरिएको हो ।

उनीहरुलाई फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राससको ५८ औँ वार्षिक उत्सवको अवसरमा विराटनगरस्थित राससको प्रदेश कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिने जनाईएको छ । राज्यको एक मात्र आधिकारिक समाचार समिति रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको थियो । यसले विभिन्न आमसञ्चार माध्यमका लागि समाचार, आलेख, फोटो, श्रव्य सामग्री, अङ्ग्रेजी र अन्र्तराष्ट्रिय समाचार सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्