दुर्घटनाबाट बच्न यस्ता कुरामा ध्यान दिनुहोस्


 


काठमाडौं : सवारी दुर्घटनाबाट बच्न ड्राइभिङको समयमा सबै चनाखो रहन्छन्। दुर्घटना न्युनीकरण गर्न धेरै कुरामा ध्यान दिए पनि साना गतिविधिले पनि दुर्घटना निम्त्याउन सक्छ।

बोतल

पानी तथा पेय पदार्थको बोतल पनि सवारी दुर्घटनाको कारक हुन सक्छ। यदि ती वस्तु भित्र झरेर कारको ब्रेक प्याडलको बीचमा अड्किन सक्छ। चालकलाई त्यो कुराको हेक्का नहुन सक्छ। ब्रेकको प्रयोग गर्नुपर्ने स्थानमा ब्रेक नथिचियर दुर्घटना हुन सक्छ। यस्तो वस्तु कारमा राख्नु परे सुरक्षित स्थानमा राख्ने गर्नुपर्छ। त्यहाँबाट झरेर कारको ब्रेक प्याडलको आसपास पुग्न नसकोस्।

फ्लोरम्याट

कारमा प्रयोग गरिने फ्लोरम्याट सधैं सुख्खा राख्नुपर्छ। भिजेको फ्लोरम्याटले दुर्घटना निम्त्याउन सक्छ। भिजेको फ्लोरम्याटमा ड्राइभरको खुट्टा चिप्लिन सक्छ। यसले ब्रेक माथिको पकड कमजोर बनाउँछ। उच्च ट्राफिक चाप भएको स्थानमा यसले मुस्किल बढाउँछ।

स्टेरिङ

कारको स्टेरिङ कभर सफा र ग्रीप भएको प्रयोग गर्नुपर्छ। पुरानो र खुइलिएको कभरबाट हात चिप्लिने सम्भावना हुन्छ। त्यसले दुर्घटना निम्त्याउने खतरा हुन्छ। गुणस्तरीय र सुहाउँदो कभर लगाउनुपर्छ।

जुत्ता

चप्पल लगाएर कार ड्राइभ गर्नु हुँदैन। चप्पल चिप्लिएर कारको ब्रेक तथा अन्य कन्ट्रोलिङ प्याडलमा अड्किन सक्छ। यसले दुर्घटना निम्त्याउन सक्छ। त्यसैले कार चलाउँदा सदैव खुट्टामा अड्ने जुत्ताको प्रयोग गर्नुपर्छ।

न्यूटलमा गाडी गुडाउनु

धेरै चालकले इन्धन बचाउन ओरोलो स्थानमा इन्जिन अफ गरेर कार चलाउने गर्छन्। यस्तो गर्नु जोखिमपूर्ण हुन्छ। इन्जिन नचलेको अवस्थामा पावर–ब्रेक र पावर स्टेयरिङले काम गर्न छाड्छ। साथै कारको गति धिमा हुन्छ। त्यसैले ओरालो बाटोमा सवारीसाधन चलाउँदा इन्जिन अफ गर्नु हँुदैन।

गलत दिशाबाट चलाउनु

सवारी बायाँ दिशाबाट चलाउनुपर्छ। गलत दिशाबाट सवारी चलाउनु दुर्घटनालाई आमन्त्रण गर्नु हो। रियर भ्यू–मिरर बन्दै राख्ने कारमा रहेको सिसालाई चालकको आँखा मानिन्छ। चालकको खराब बानीमध्ये एक हो, रियर भ्यू–मिरर बन्द भएकै अवस्थामा गाडी गुडाउनु। कारमा रहेको आउडसाइड रियर भ्यू–मिरर फोल्ड नै राखेर गाडी चलाइरहेका थुप्रै घटना देख्न सकिन्छ। विशेषगरी मिरर फोल्डिङ गरेर कार चलाउँदा अगाडि–पछाडिको दृश्य नदेखिने भएकाले दुर्घटना निम्तिने गर्छ।

ट्राफिक सिग्नलको बेवास्ता

थोरै चालकले ट्राफिक नियम पालना गर्ने गरेका छन्। सडक दुर्घटना बढ्नुको प्रमुख कारण ट्राफिक नियमको पालना नगर्नु नै हो। ट्राफिक नियम पालना गरेमा धेरै दुर्घटना न्युनीकरण गर्न सकिन्छ।

दुरी

अन्य सवारीसँग उचित दुरी कायम गरेर कार चलाउनुपर्छ। दुरी कायम गरेर सवारी चलाउँदा आकस्मिक ब्रेकको प्रयोग गर्दा सवारी ठोकिने सम्भावना न्युन हुन्छ। तर नेपालमा सवारी साधन जोडिने गरी चलाउने चलन छ। यसले दुर्घटना बढाएको छ।

लेन–अनुशासनको कमी

नेपाली चालकले प्रायः लेन–अनुशासनको पालना नगर्ने गरेको ट्राफिक प्रहरी महाशाखा बताउँछ। हाईवेमा भने फास्ट–लेनको प्रयोगमा मात्रै ओभरटेक गर्ने गरिन्छ। यसका अलवा चालकले दुई–लेनबीच ड्राइभिङ गर्ने बानी हटाउनुपर्छ भने ट्राफिक सूचनाको प्रयोग गर्नुपर्छ। नेपालमा वार्षिक ३० हजारभन्दा बढी चालक लेन अनुशासनको कारबाहीमा पर्ने गरेका छन्।

आपतकालिन बत्तीको प्रयोग

प्रायःजसो चालकले आपतकालिन बत्तीको प्रयोग गर्ने गर्छन्। विशेषतः यस्तो ल्याम्पको प्रयोग आपतकालिन अवस्था गर्ने गरिन्छ। पानी परेको समय वा जाम भएको अवस्थामा यस्तो ल्याम्पको प्रयोग गर्दा अन्य सवारी चालकलाई भ्रमित गर्ने गर्छ। जसले ठूला दुर्घटना निम्त्याउन सक्छ।

मोबाइल फोनको प्रयोग

सवारी चलाउँदा मोबाइलको प्रयोग गर्नु हुँदैन भनिन्छ। तर अधिकांश चालकले फोनमा बोल्दै सवारी चलाउने गर्छन्। यस्तो कार्य गर्दा चालकको सम्पूर्ण ध्यान कारमा केन्द्रित हुन सक्दैन। कारको आसपास भएका गतिविधि बारेमा चालकले पूर्ण जानकारी नपाउँदा दुर्घटना हुनसक्छ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्