प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे ?


 


चमिना भट्टराई काठमाडौं फागुन २ पति पत्नीका बीचमा राम्रो सम्बन्ध स्थापित भएर एकले अर्काको भावना बुझ्ने हो भने त्यही होइन र प्रणय दिवस ? त्यो गर्न सक्ने हो भने मान्छेका जीवनमा ३ सय ६५ दिन नै हुन्छ प्रणय दिवस । तर, पछिल्ला दिनमा यस्तो देखिँदैन । माया, प्रेम र भावना पनि समाजलाई देखाउनका लागि बन्दै छ । त्यसो हुन भनेको आडम्बरबाहेक केही होइन । देखाएको सम्बन्धभन्दा बनेको सम्बन्ध टिक्छ । देखाउने चिज त किन्न पनि पाइन्छ । तर, माया प्रेम वा भावनात्मक सम्बन्धको कुनै मूल्य नै हुँदैन । त्यसका अघि रातो गुलाबको फूल केबल फूल मात्रै सिमित हुन्छ । अर्को कुरा माया प्रेम निश्चित समयपछि ओइलिने वा सुक्ने हुन हुँदैन

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे । फेब्रुअरी १४ का दिन विश्वभरका मान्छेले यो दिवस मनाउँछन् । पछिल्ला केही वर्षयता आएर भने यसलाई पनि सप्ताव्यापी मनाउन थालिएको छ । कुनै पर्व वा उत्सवजस्तै । प्रणय दिवसका अवसरमा आफूले मन पराएको मान्छे वा प्रेम, प्रेमीलाई रातो गुलाबको फूल, चकलेट र मनपर्ने वस्तु उपहार दिने गरेको पाइन्छ ।

यो नेपाली संस्कृति होइन, पश्चिमा संस्कृति हो । तर, नेपालमा पनि यसले अहिले ठूलै आकार लिएको छ । अहिले केही नेपाली यो आफ्नै संस्कृति भएजस्तै ठान्न थालेका छन् । केही वर्ष पहिलासम्म युवा पुस्तामा मात्रै सीमित यो दिवस अहिले सबै उमेर समूहका मान्छेको साझा बनेको छ । भ्यालेन्टाइन डे भनेर उच्चारण गर्न हिचकिचाउनेहरूले अहिले यसलाई सहज रूपमा यसलाई मनाइरहेको सामाजिक सञ्जालमा पोस्ट भएको तस्बिर र स्टाटसले देखाउँछ । अर्को अर्थमा भन्नुपर्दा सामाजिक सञ्जाल प्रयोग कर्ताका लागि यो झनै महत्वपूर्णजस्तै देखिएको छ ।

हुन पनि यो रोमबाट आयतित संस्कृति हो । पछिल्ला वर्षमा मात्रै यसले नेपालमा व्यापकता पाएको छ । तर, प्रेमका पक्षपातीहरू भने प्रेमको कुनै भूगोल र सीमा नहुने तर्क गर्दछन् । अर्काथरी भने दिन हेरेर र बनाएको सम्बन्ध र गरेको प्रस्ताव अर्को दिन टिक्छ कि टिक्दैन भन्ने शंका गर्नेहरू पनि छन् । हुन पनि प्रेम साइत हेरेर पक्कै हुँदैन वा तोकिएकै दिन हुन्छ भन्नेहरू पनि पाइँदैन ।

पछिल्ला दिनमा प्रेम, सम्बन्ध मात्रै होइन मान्छेका वैवाहिक सम्बन्ध पनि बाहिर देखिने एउटा, भित्र अर्कै हुन थालेको आभाष हुन थालेको छ । बाहिर समाजका अघि देखिएको सम्बन्ध घरका चौघेराभित्र छिरेपछि फेरिने गरेको दृष्टान्त छरप्रष्ट हुन थालेको छन् । तर, पनि समाजमा देखाउनका लागि भने रातो गुलाबको फूल वा चकलेट दिएर मिठो शब्दमा माया दर्शउनेहरूको पनि कम छैन । एक दिनको रातो फूल वा उपहार चकलेटले मान्छेको जीवन सुन्दर हुने होइन । सधैँ सुमधर र सुन्दर बनाउने दुवै पक्षको उत्तिकै भूमिका भयो भयो जीवन सधैँ प्रणय बन्छ र त्यसका लागि दुवै इमानदार हुनपर्छ । सम्बन्ध भनेको देखाउनका लागि वा जबर्जस्त बनाउने होइन, भावनात्मक रूपमा बनेको हुनुपर्छ ।

दुई आत्माका बीचमा हुने आदर्श प्रेम हिजोआज दन्त्य कथा भएको छ । बदलिँदो समाजले प्रेमलाई फरक ढंगले परिभाषित गर्न थालेको छ । अहिले प्रेम कति वेला हुन्छ कति वेला बिछोड मान्छेले पत्तै पाउन छोडेका छन् । प्रेम पनि घण्टा, दिन र रातका लागि निश्चित समयका लागि जस्तै बनेको छ । यही समाजमा प्रेमलाई दुई आत्मको मिलन भनियो । तर, आज प्रेमलाई शारीरिक आवश्यकता ठानिन थालिएको छ । प्रेम एक अर्काको अनुभूतिभन्दा भोग्नका लागि जस्तै बनेको छ ।

अरूको नक्कल वा सिकोले कुनै पनि चिज दीर्घकालीन बन्न सक्दैन । यो प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे पनि हामीले अरूको नक्कल गरिरहेका हौँ । कसैले कसैप्रति प्रेम गर्नु नराम्रो होइन, मात्रै बुझाइको कुरो हो । प्रेम भनेको माया गर्नु एकले अर्कोको भावना बुझ्नु र सुख दुःखमा साथ दिनु पनि प्रेम हो । तर, हिजो आज प्रेमको भाषा फेरिएको छ । एकले अर्कोलाई प्राप्त गर्नु, भोग्नु वा क्षणिक समयका लागि उपभोग गर्नुलाई पनि केहीले प्रेम भनेर बुझ्न थालेका छन् ।

प्रेम गर्नाका लागि, पे्रम प्रस्ताव राख्नका लागि वा प्रेमभाव देखाउनका लागि कुनै विशेष दिन चाहिन्छ भन्ने होइन । प्रेम त एक प्रकारको भावना हो समाजलाई देखाउनका लागि वा सामाजिक सञ्जालमामा प्रचार गर्नका लागि हुनु हुँदैन । प्रणय भन्नेबित्तिकै पतिपत्नी बीचको सुमधुर सम्बन्ध स्थापित हुनु पनि मानिन्छ । तर, पछिल्ला दिनमा यसलाई दुरुपयोग गरेको पाइन्छ । कतिले यही समयमा आफूलाई मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्ने र जीवनसाथी रोज्ने गरेको पनि सुनिन्छ । अरूको संस्कृतिमा आधारित भएर गरेको प्रेम प्रस्ताव वा रोजेको जीवन साथी जीवनका लागि हुन्छ कि क्षणिक त्यो पनि पेचिलो विषय छ ।

पति पत्नीका बीचमा राम्रो सम्बन्ध स्थापित भएर एकले अर्काको भावना बुझ्ने हो भने त्यही होइन र प्रणय दिवस ? त्यो गर्न सक्ने हो भने मान्छेका जीवनमा ३ सय ६५ दिन नै हुन्छ प्रणय दिवस । तर, पछिल्ला दिनमा यस्तो देखिँदैन । माया, प्रेम र भावना पनि समाजलाई देखाउनका लागि बन्दै छ । त्यसो हुन भनेको आडम्बरबाहेक केही होइन । देखाएको सम्बन्धभन्दा बनेको सम्बन्ध टिक्छ । देखाउने चिज त किन्न पनि पाइन्छ । तर, माया प्रेम वा भावनात्मक सम्बन्धको कुनै मूल्य नै हुँदैन । त्यसका अघि रातो गुलाबको फूल केबल फूल मात्रै सिमित हुन्छ । अर्को कुरा माया प्रेम निश्चित समयपछि ओइलिने वा सुक्ने हुन हुँदैन । गुलाबको फूलजस्तै । त्यो हरेक कठिन अवस्थामा पनि टिक्ने र एकले अर्काको अनुभूति गर्ने हुनपर्छ ।

प्रणय दिवसमा नाममा फूल वा उपहारको बजारसमेत बढ्ने गरेको छ । पतिले पत्नीलाई वा पत्नीले पतिलाई वा प्रेमीले पे्रमीलाई उपहार दिन यही दिन किन कुर्न पर्छ र ? उपहार आवश्यकतामा वा आफूसँग पैसा हुँदा पनि दिन सकिन्छ । अरू दिनसँगै भएको पत्नी पति वा साथीलाई वास्तै नगर्ने यो दिन ऋण गरेर उपहार दिने र फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नु कत्तिको व्यवहारिक होला त्यसमा पनि बहस गर्नुपर्छ ।
यसको मतलब कसैले कसैलाई माया प्रेम नै नगर्नु वा उपहार नै नदिनु होइन ।

तर, यही दिन कुरेर ३ सय ६४ दिन एक अर्कासँग बेखर रहनु उचित होइन । पत्नी, पति वा साथीलाई अरूवेला आवश्यक परेको वस्तु आफ्नाे हैसियतअनुसार उपहार दिनु पनि प्रेम नै हुन्छ । त्यसले एकातिर प्रेमभाव देखाउन भने अर्कोतर्फ आवश्यकता पूरा गर्छ । एउटाले अर्कोको समस्यालाई नजिकबाट बुझेको अनुभूति पनि गराउँछ । त्योभन्दा ठूलो प्रेम अरू के हुन सक्छ ?

हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस छ । कृष्ण अष्टमी, तिज, विवाह पञ्चमीजस्ता महत्वपूर्ण पर्व पनि छन् जुन एक प्रकारको प्रेम दिवस नै हो । यी पर्वहरू एकले अर्कालाई प्राप्ति गरेको र एकले अर्काको दीर्घायुको कामना गरेर उपवास बसेको पाइन्छ । यसमा एकले अर्कालाई रातो गुलाबको फूल वा उपहार नदिए पनि भावनात्मक सम्बन्ध भने गाँसिएको पाइन्छ ।

भ्यालेन्टाइन्स डे के हो र कसरी सुरु भयो ?

भ्यालेन्टाइन्स डे आयतित संस्कृति भएको र यसका बारेमा हेर्ने हो को यसको एउटा दुःखद् इतिहास पाइन्छ । खासमा तेस्रो शताब्दीमा रोममा क्लोडियस नामका एक शासक थिए । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन ।’

केहीलाई क्लोडियसको उक्त कुरा पटक्कै मन परेन । उनीहरूले फरमानको विरोध गरे । बिहे गर्न चाहेकाहरूले बिहे गर्नका लागि अरूलाई उक्साए । यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे । जब क्लोडियसलाई आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरुलाई प्रेरित गरको थाहा पाए उनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

बिहेका लागि उक्साउने ती सैनिकलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर उनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे र त्यसको मुनि लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी दृष्टिविहीन छोरीलाई दिनू ।’ राजाले सन् २६९ को १४ फेब्रुअरीमा ती सैनीकलाई फाँसी दिए । यही दिनलाई तिनै सैनिकको समर्पणमा मानिसहरूले भ्यालेनटाइन डे मनाउन सुरु गरेको मानिन्छ ।

केही वर्ष अघिसम्म सुरुआती दिनमा विधिवत् रूपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसवेला प्रेमी (प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदानप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदानप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा हो ।

प्रेम भावनासँग सम्बन्धी कुरा हो । यसलाई अनेक प्रतीक र विम्बमा अभिव्यक्त गरिन्छ, गरिएका छन् । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै प्रयोग हुने वस्तु गुलाफको फूल नै हो । गुलाफ आदानप्रदान गरेर युवा युवतीहरूले आपसमा प्रेम पकट गर्ने दिन । आफूले मन पराएको केटा वा केटीलाई गुलाफको पूmल दिएर नै प्रस्ताव राख्ने गर्दछन् । ‘भ्यालेन्टाइन डे’ को अवसरमा गुलाफको फूलको रङ र यसका अर्थहरूलाई बुझ्नुपर्ने हुन्छ ।

नेपाली समाज र संस्कृतिअनुसार पति, पत्नी वा आफूले मन पराएको मान्छेलाई माया गरौँ, आदर गरौँ, एकले अर्कोको भावना बुझेर सम्मान गरौँ । त्यतिवेला रातो गुलाबको फूल, चकलेट वा उपहार नभए पनि हुन्छ । सम्बन्ध राम्रो रह्यो भने त्यही हुन्छ, भ्यालेन्टाइन्स डे फेब्रुअरी १४ को प्रतीक्षा गर्नैै पर्दैन ।

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्