अब बन्द हुने भए राजमार्गका सबै रक्सि पसल, सरकारले चाल्यो कडा कदम !


 


काठमाडौं माघ २९ ‘
सरकारले राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणको पहल सुरु गरेको छ । सडक सुरक्षा ऐन बनाएर राजमार्ग आसपासमा मादक पदार्थजन्य वस्तु बिक्रीवितरणमा रोक लगाउने सरकारको तयारी छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कानुन मन्त्रालयसँग सुझाव मागेको मन्त्री रघुवीर महासेठले मङ्गलबार संघीय संसदमा बताए ।

सांसदहरुले पछिल्लो समय चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको बताएपछि उनले यस्तो जानकारी दिएका हुन् । यस्तै मोबाइल फोन प्रयोग गरी सवारी चलाउने चालकको लापरबाहीका कारण सडक दुर्घटना बढेको सांसदहरुको भनाइ छ । मापसे गरी सवारी चलाउने र सवारी चलाएको समयमा मोबाइल फोन प्रयोग गर्ने चालकलाई कडा कारबाही गर्नुपर्ने माग सांसदहरुको छ ।सांसदहरुलाई जवाफ दिँदै मन्त्री महासेठले सडक सुरक्षाका लागि मन्त्रालयले आवश्यक कामकारबाही गरिरहेको प्रस्ट पारे । मन्त्रालयले सडक सुरक्षा ऐन जारी गर्दै सडकको सुरक्षित प्रयोगलाई थप प्राथमिकता दिने मन्त्री महासेठले बताए ।हाल सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले यातायातको सम्पूर्ण क्षेत्र नियमन गर्दै आएको छ ।

उक्त ऐनले निजी, सरकारी, सार्वजनिक, मोटरसाइकल, तीनपाङ्ग्रे सबै प्रकारका सवारीलाई एकमुस्ट रुपमा समेट्छ ।
“सडक सुरक्षा ऐन जारी भएपछि सडकलाई सुरक्षित र यात्रुमैत्री बनाउन सम्बन्धित निकायलाई थप सहयोग पुग्छ,” मन्त्री महासेठले भने ।
२६ वर्ष पुरानो सवारी तथा यातायात व्यवस्था ऐनले हालको सवारी साधनको सञ्चालन र व्यवस्थापनलाई सुरक्षित र यात्रुमैत्री बनाउन नसकेको संघीय सांसदहरुको दाबी छ । नेपालमा गाडी किन्नेको संख्या बढ्यो । सडकको लम्बाइ पनि दिनानुदिन बढिरहेको छ । गाउँगाउँमा सडक खुलेका छन् । तर सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पनि उत्तिकै भयावह छ सांसदहरुको भनाइ थियो । सडक सुरक्षा ऐन बनाउनका लागि कानुन मन्त्रालयलसँग सुझाव मागिएको मन्त्री महासेठले सांसदहरुलाई बताए ।

उक्त ऐनले राजमार्गमा मादक पदार्थजन्य वस्तु बिक्रीविरतणमा रोक लगाउनका साथै सवारी चलाएको समयमा चालकले मोबाइल फोन प्रयोग गर्न नपाउने व्यवस्था गर्ने छ । सडकलाई कसरी सुरक्षित बनाउने भन्नेबारे मन्त्रालयले सह–सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छु,” मन्त्री महासेठले भने, यो कार्यदलको प्रतिवेदनको सुझाव र कानुन मन्त्रालयको सुझावका आधारमा सडक सुरक्षा ऐन जारी गरिने छ ।”मन्त्री महासेठले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई पनि केही दिनभित्रै संशोधन गरिसक्ने स्पष्ट पारे ।सांसदहरुले स्मार्ट लाइसेन्स वितरण, सडकभन्दा साँघुरा पुल र टिपरको मनपरि सञ्चालनलाई मन्त्रालयले गम्भीर भएर नहेरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्